काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। सोमबार जारी विज्ञप्तिमा बैंकले “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकारको आन्तरिक राजश्व विभागद्वारा सञ्चालनमा रहेको प्यान प्रणालीमा खाताबाट भएको करकट्टीको विवरण आवद्ध गर्न आवश्यक भएकाले तुरुन्त प्यान अद्यावधिक गर्न अनुरोध गरेको हो।
बैंकका अनुसार ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको “प्यान अपडेट” विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयमार्फत पनि आवेदन दिएर प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई ईटीडिएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक हुने जनाएको छ। प्यान अद्यावधिक भएपछि आयकर प्रणालीले अनुसूची १० मा करकट्टीको विवरण स्वचालित रूपमा मिलान गर्ने भएकाले ग्राहकले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै पाउने बैंकको दाबी छ।
बैंकले प्यान अद्यावधिक नगरेका कारण ईटीडिएसमा ब्याजकर दाखिला नभएमा वा त्यसपश्चात थप कर समायोजनको आवश्यकता परेमा आफू जिम्मेवार नहुने स्पष्ट पारेको छ। साथै, यसअघि प्यान उपलब्ध गराए पनि विवरण समावेश नभएका ग्राहकलाई नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र (फोन: १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया