काठमाडौं : नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र अन्य व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस वक्तव्यमा सरकारले राहदानी रोक्ने र आफ्नै मुलुकभित्र पनि आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गर्दै राजनीतिक प्रतिशोधको वातावरण सिर्जना गरेको उल्लेख गरिएको छ।
गत भदौ २३–२४ गते जेनजी आन्दोलन भएको थियो। सो आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि आयोग गठन भएको थियो। आयोगको सिफारिसअनुसार सरकारले निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो।
यसैगरी, गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख छवि रिजालको पासपोर्ट पनि रोक्का गरिने निर्णय गरिएको छ।
पाँचैजनालाई विदेश भ्रमण गर्न रोक लगाइने र स्वीकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय पनि भएको छ। कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधपूर्ण कदमको रूपमा आलोचना गरेको छ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘राहदानी रोक्ने र मुलुकभित्र आवतजावतमा निषेध लगाउने प्रकारका निर्णयले सरकारको वास्तविक जिम्मेवारी—मुलुकमा शान्ति र सुव्यवस्था कायम राख्ने—बाट विचलित भएको देखिन्छ।’
कांग्रेसले अन्तरिम सरकारलाई चेतावनी दिँदै ‘दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न’ आग्रह गरेको छ।
यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले निवर्तमान प्रधानमन्त्री ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोधपूर्ण कदम नउठाउन चेतावनी दिएको थियो। युवा संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका थिए।
दुवै दलका नेताराज्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत समेत सरकारका पछिल्ला निर्णयको आलोचना गर्दै आएका छन्।
प्रतिक्रिया