‘जेनजी’को नाममा अराजकता सहनु राष्ट्रघात हुनेछ : भीमज्वाला राई

मंगलबार, २१ असोज २०८२

‘जेनजी आन्दोलन’का नाममा देखिएको अराजकता र हिंसात्मक गतिविधिले देशलाई पुनः अन्धकारतर्फ धकेल्ने संकेत देखिएको छ । केही दिनयता भएका घटनाले नेपालले अघिल्ला दशकमा गरेको ठूलो राजनीतिक उपलब्धिलाई नै जोखिममा पार्ने भय पैदा गरेको छ ।

पहिलो कुरा, देशले पहिले नै ठूलो क्षति व्यहोरेको छ । जनताको सम्पत्ति, मनोबल र सामाजिक विश्वासमा । भदौ २३ र २४ गतेका घटनाले लोकतन्त्रको आधार स्तम्भ नै हल्लाएको छ । त्यसैले, अब थप क्षति हुन दिनु हुँदैन। ती घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही गर्नुपर्छ ।

दोस्रो, हाम्रो न्यूनतम् आधार हो, संविधान २०७२, संघीयता र लोकतान्त्रिक गणतन्त्रको रक्षा । यी प्राप्तिहरू सात दशकको संघर्ष, रगत र पसिनाको परिणाम हुन् । त्यसैले कुनै पनि शक्ति वा समूहले यसमा हस्तक्षेप गर्ने अधिकार राख्दैन ।

तेस्रो, ‘जेनजी मूभमेन्ट’पछि बनेको नयाँ सरकारले उद्देश्यपूर्ण ढङ्गले काम गर्न सक्ने वातावरण पाएको छ । अब राजनीतिक दल र नागरिक समाज सबैले सकारात्मक भूमिका निर्वाह गर्न जरुरी छ, न कि देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने ।

चौथो, सरकार र सबै राज्य संयन्त्रहरूले संविधान, कानुन, नीति र नियमभित्र रहेर काम गर्नुपर्ने हो। यही विधि र प्रक्रियाले लोकतन्त्रलाई बलियो बनाउँछ ।

तर अहिले केही व्यक्तिहरू वा समूहहरूले राज्य संरचनामा हस्तक्षेप गर्दै दादागिरी प्रदर्शन गर्ने प्रवृत्ति देखाएका छन् । यस्तो उरन्ठेउलो मनोवृत्तिले न त देश चल्छ, न त शान्ति रहन्छ ।

संविधानले निर्दिष्ट गरेका संवैधानिक अंगहरू अख्तियार, न्यायालय, संसद् वा सुरक्षा निकायमा दबाब, धावा र धम्कीको संस्कार लोकतन्त्रको घोर अपमान हो ।
 
त्यसैले, जाँचबुझ आयोगले आफ्नो काम सुरु नगरी पूर्वप्रधानमन्त्री वा गृहमन्त्रीजस्ता व्यक्तिहरूमाथि दबाब र गिरफ्तारीको माग गर्नु विधिसम्मत होइन, पूर्वाग्रहपूर्ण व्यवहार हो । यस्तो अराजकताले देशलाई पुनः द्वन्द्वमा धकेल्न सक्छ ।

हामीले विगतमा ‘जेनजी’को नाममा भएको अनेकौं अराजकता सह्यौं, देश खरानीजस्तो बने पनि संयमता अपनायौं । तर, अब देशले थप क्षति सहन सक्दैन ।

अब जेनजीको नाममा भइरहेको पागलपनको प्रतिवाद गर्ने पनि समय आएको छ । केही उदण्डहरूको गुण्डागर्दीलाई सबैले मिलेर सामना गर्नुपर्छ । यो केवल राजनीतिक मुद्दा होइन, राष्ट्रको अस्तित्वको प्रश्न हो ।

वास्तविक जेनजी पुस्ता जसले परिवर्तन, सोच र सम्भावनाको प्रतिनिधित्व गर्छ उसैले अब अगाडि बढेर अराजकताको विरोध गर्नुपर्छ ।

मजदुर नेता राईले समाजिक संजालमा व्यक्त गरेको भनाईका आधारमा तयार 

प्रतिक्रिया

भीमज्वाला राई
लेखकको बारेमा
भीमज्वाला राई

सम्बन्धित समाचार