✍️ गंगाधर पराजुली
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य एवम् नेपाली काँग्रेसका युवा नेता गंगाधर पराजुलीले पार्टीभित्रको विवाद, निर्वाचन तयारी र नेतृत्व सम्बन्धी स्पष्ट तथा छिटो समयमा महाधिवेशन गर्नको लागि क्रमबद्ध रोडम्याप सार्वजनिक गरेका छन् । पराजुलीले तत्कालीन राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टी भित्रको सङ्गठनात्मक कमजोरी हटाएर राष्ट्रिय हितमा अग्रसर हुनुपर्ने जोड दिएका छन् ।
पराजुलीले मुलुकको जेठो र प्रजातन्त्र अनि लोकतन्त्रको लागि सङ्घर्षपूर्ण इतिहास बोकेको पार्टी नेपाली काँग्रेसले तीन महिना भित्र पार्टीको १५ औँ महाधिवेशन गर्ने र मुलुकका समस्याको तुरुन्त समाधान गर्न नेतृत्वदायी भूमिका लिएर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । उनका मुख्य सुझावहरू यस प्रकार छन् :-
पराजुलीको सुझाव अनुसार पुरानो र नयाँ क्रियाशील सदस्यताको टुङ्गो बढीमा १ महिनामा सक्ने गरी प्रक्रिया अघि बढाउनु पर्छ । नयाँ सदस्यताको लागि जेनजी पुस्तालाई समेत आव्हान गरेर सदस्यता प्रदान गरिनुपर्छ यसका साथै वडा बाट विभिन्न तहमा प्रतिनिधित्व गर्ने क्रममा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गरिनुपर्छ ।
त्यसपछि टोलदेखि प्रदेशसम्म टोल, वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला र सात वटै प्रदेशको अधिवेशन सम्पन्न गर्न थप १ महिना छुट्टाएर सम्बन्धित तहको अधिवेशन गर्न सकिन्छ ।
सात वटा प्रदेशको अधिवेशन सकिएपछि एक महिनाको तयारी समय लिएर पौष महिनाको अन्तिम वा माघ महिनाको पहिलो सातामा पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्य तालिका निर्धारण गरी हालको व्यवस्था अनुसार सदस्यता टुङ्गो लगाउन ढिलाइ हुनसक्ने भएकाले सम्बन्धित जिल्ला समितिले सिफारिस पठाउने र सम्बन्धित प्रदेशले फाइनल गरेर केन्द्रीय समितिमा अभिलेखका लागि पठाउने पारदर्शी व्यवस्था मिलाउन सकिन्छ ।
केन्द्रीय समितिमा दीर्घकालदेखि रहेर जिल्लामा नदेखिने प्रवृत्ति भएका नेताहरू हुँदा केन्द्रीय नेता र वडा तहमा दुरी बढ्दै गएको अवस्थामा तल्लो तहबाट नै निर्वाचित हुँदै केन्द्रमा पुग्ने व्यवस्था गर्दै वडाबाट चुनिएर क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था र केन्द्रीय समितिमा रहेका लाई तल्लो तहबाट निर्वाचित हुन नपर्ने सुविधा दिने पर्ने भएमा त्यसलाई एउटा–दुई पटकसम्म मात्र सीमित गरिने व्यवस्था अहिलेको सन्दर्भमा उपर्युक्त हुन्छ ।
यदि अहिलेको अवस्थाबाट विशेष महाधिवेशन गर्ने निर्णय भएमा त्यसबाट निर्वाचित केन्द्रीय समितिको कार्यकाल विधानले व्यवस्था गरेको अवधिभित्र सीमित हुने हुँदा कार्यकाल केही दिन वा सातामा मात्र सीमित हुने भएकोले विशेष महाधिवेशनको तयारीमा भन्दा नियमित १५ औँ महाधिवेशनमा लाग्नु उपयुक्त छ ।
पार्टीको नेतृत्व लिन चाहनेहरूको बिचमा मतभेद र गुटबन्दी न्यून गर्न निश्चित समझदारी गर्न पनि कांग्रेस नेता पराजुलीले नेतृत्वमा रहेकालाई सुझाएका छन् कसले पार्टीको नेतृत्व लिने, कसले सरकार चलाउने र कसले राष्ट्रप्रमुखको भूमिका सम्हाल्ने” जस्ता विषयमा अग्रिम समझदारी गरी पार्टीको तल्लो तहसम्मका समर्थक र शुभचिन्तकको साथ सहयोग बटुल्न अनि पार्टीमा ऊर्जा र एकता कायम गर्नुपर्ने उनको भनाइ छ ।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गरी नेपाली काँग्रेसले अन्य दल र सरोकारवालासँग संवाद गरी गोलमेच सम्मेलन राख्ने, हाल सतहमा उठेका सबै खाले एजेन्डाहरूमा गम्भीरता साथ छलफल गरी आवश्यक परे जनमत सङ्ग्रहमा जाने विकल्पसमेत खुला राख्दै सर्वदलीय/सर्वपक्षीय राष्ट्रिय सरकार गठनको पहल गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् ।
भदौ २३–२४ को आन्दोलनका क्रममा भएका गोली काण्ड, सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएको आगजनी, लुटपाट, तोडफोड र नागरिक तथा राजनीतिक कार्यकर्तामाथि भएका आक्रमणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाली काँग्रेसले गम्भीरता पूर्वक आवाज उठाउनुपर्छ ।
प्रतिक्रिया