केपी ओली र रमेश लेखकविरूद्ध प्रहरीमा उजुरी, अब के हुन्छ ?

प्रहरी प्रवक्ता घिमिरेले भने,“अहिले केन्द्रीय प्रहरीको आधिकारिक धारणा छैन।”

विहीबार, २३ असोज २०८२

काठमाडौँ : २३ र २४ भदौको जेन–जी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको उजुरी प्रहरीमै फिर्ता गरिदिँदा प्रहरीले अप्ठ्यारोमा परेको छ। रसिक खतिवडाका बुवा पुरुषोत्तम खतिवडा सहित चार जनाले २१ असोजमा काठमाडौँ जिल्ला प्रहरी परिसरमा उजुरी दिएका थिए।

उजुरीमा ओली–लेखकमाथि मानवता र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गरिएको थियो। तर, उजुरी दर्ता नगरी आयोगमा पठाइएपछि आयोगले बिहीबार उजुरी प्रहरीमै फिर्ता गरिदियो। यसले प्रहरीलाई कानुनी र प्रशासनिक अलमलमा पारेको छ।

प्रहरीका अनुसार, उजुरीमा काठमाडौँका मेयर बालेन्द्र साह र जेन–जी अभियन्ता सुधन गुरुङविरुद्ध पनि उजुरी परेको छ।

एमाले निकट अनेरास्ववियुले २१ असोजमै साह र गुरुङविरुद्ध आगजनी, उपद्रव र सम्पत्ति विध्वंसको आरोपमा अनुसन्धान माग गरेका थिए। ओली–लेखकविरुद्ध उजुरी आयोगमा पठाइए पनि साह–गुरुङविरुद्ध उजुरी पठाउने तयारी गर्दै गर्दा आयोगले पहिलो उजुरी फिर्ता गरिदिँदा प्रहरी अलमलमा परेको हो।

परिसर प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने, “आयोगले उजुरी फिर्ता गरेको सन्दर्भमा हामी कानुनी परामर्श लिनेछौँ। आयोग र प्रहरीको कार्यक्षेत्र स्पष्ट गर्दै आवश्यक कदम अघि बढाइनेछ।”

जेन–जी आन्दोलनपछि गठन भएको आयोगको संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्की हुन्। आयोगका अन्य सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्।

आयोगले प्रदर्शनका क्रममा भएका क्षति, कारण, सुझाव र पुनरावृत्ति रोक्ने उपायसमेत प्रतिवेदनमा राखेर तीन महिनाभित्र सरकारलाई बुझाउने कार्यादेश पाएको थियो।

अवकाशप्राप्त प्रहरी अधिकारीहरू भन्छन्, “विगतका ठूला आन्दोलनमा आयोगको प्रतिवेदनपछि मात्र कारबाही अगाडि बढाइन्थ्यो। प्रारम्भिक चरणमै उजुरी फिर्ता हुँदा प्रहरीले दुवै पक्षसँगको उजुरी व्यवस्थापन गर्न कठिनाइ हुनेछ।”

केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक विनोद घिमिरेले भने, “उजुरी परिसरमै परेको छ, त्यसैले आवश्यक कारबाही परिसरले गर्नेछ, अहिले केन्द्रीय प्रहरीको आधिकारिक धारणा छैन।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार