हङकङको आवासीय क्षेत्रमा भिषण आगलागी, ४४ जनाको मृत्यु

विहीबार, ११ मंसिर २०८२

काठमाडौँ : हङकङको ताइ पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय परिसरमा लागेको भीषण आगलागीले कम्तीमा ४४ जनाको ज्यान लिएपछि शहर शोकमा डुबेको छ। 

२७९ जना अझै सम्पर्कविहीन रहेका छन्। बुधवार दिउँसो सुरु भएको आगोले आसपासका अन्य भवनहरूलाई समेत क्षति पुर्‍याउँदै १६ घण्टासम्म नियन्त्रणबाहिर रह्यो।

३२ तले भवनबाट सुरु भएको आगो तीव्र हावाका कारण छिमेकी टावरहरूमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सयौँ अग्निनियन्त्रक र उद्धारकर्मीले लगातार प्रयास गरिरहे पनि २ हजारभन्दा बढी अपार्टमेन्ट भएको क्षेत्रमा आगो रोक्न चुनौतीपूर्ण बनेको छ।

घटनास्थलमै ४० जनाको मृत्यु पुष्टि गरिएको छ भने ६२ भन्दा बढी घाइते छन्। घाइतेहरूमा गम्भीर जलन तथा धुवाँसङ्क्रमणका समस्या देखिएका छन्। एक ३७ वर्षीय अग्निनियन्त्रकले उद्धारका क्रममा ज्यान गुमाएका छन्।

भवन निर्माणमा लापरबाही भएको आशङ्का गर्दै प्रहरीले ५२ देखि ६८ वर्ष उमेर समूहका तीन जनालाई पक्राउ गरेको छ। भवनको बाहिरी भाग र प्रत्येक तल्लामा अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्री प्रयोग गरिएको फेला परेपछि छानबिन तीव्र पारिएको छ।

हङकङका आगो नियन्त्रण प्रमुखका अनुसार चारवटा भवनमा आगो नियन्त्रणतर्फ उन्मुख भए पनि उच्च तापक्रम, झरिरहेका भग्नावशेष र जोखिमपूर्ण स्काफोल्डिङ का कारण उद्धार कठिन बनेको छ। करिब ९ सय जनालाई अस्थायी आश्रयमा सारिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै क्षति न्यूनीकरणका लागि सबै संयन्त्र सक्रिय पार्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार