विराटनगरमा निजी क्षेत्रको ५ करोड लगानीमा ‘स्पोट्र्स जोन’ निर्माण

विहीबार, २५ मंसिर २०८२

विराटनगवर : कोशी प्रदेशमा खेलकुद पूर्वाधार विकासलाई संगठित र दीर्घकालीन आधार दिने उद्देश्यसहित विराटनगर महानगरपालिका–३ को पुष्पमार्गमा ५ करोड रूपैयाँको निजी लगानीमा ‘विराट स्पोट्र्स जोन’ निर्माण गरिएको छ । 

खेलकुदको क्षेत्रमा नमुना केन्द्रको रूपमा रहेको जोन मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको संरचनामा  प्रदेशभरका विभिन्न खेल गतिविधिलाई एउटै थलोमा समेटिने छ । 

निजी क्षेत्रबाट ठूलो रकम खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिएको बताउँदै जोनका अध्यक्ष हरि बजगाईंले ‘विराट स्पोट्र्स जोन’लाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेल गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरे । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जोनको संरचना, सुविधाहरू र आगामी योजनाका बारेमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।

जोनका सचिव नवराज काफ्लेका अनुसार फुटसल, क्रीकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकबल, टेबल टेनिस, फुटबल र तेक्वान्दोसहित धेरै खेलहरूको नियमित प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्न सकिने आधुनिक पूर्वाधार निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको नेपालकै ठूलो र व्यवस्थित क्रिकेट एकेडेमी यस जोनको मुख्य आकर्षणका रूपमा रहेको उनले बताए ।

अनुभवी प्रशिक्षकसहित नियमित प्रशिक्षणको व्यवस्था मिलाइएको ‘स्पोट्र्स जोन’भित्र खेलाडीका लागि स्वास्थ्य अनुकूल पूर्ण शाकाहारी भोजन उपलब्ध गराउने ‘क्याफे १००५ भेज’ पनि सञ्चालनमा ल्याइएको छ । काफ्लेका अनुसार खेलमैत्री वातावरण सिर्जना गर्न यो पहललाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ । जोनभित्र प्रशिक्षण लिने खेलाडीलाई पाँच लाख रुपैयाँसम्मको खेलाडी बिमा सुविधा उपलब्ध गराइने निर्णयलाई निजी क्षेत्रमा दुर्लभ र अनुकरणीय कदमका रूपमा लिइएको छ ।

महिला खेल विकासलाई प्राथमिकतामा राख्दै क्रिकेट र फुटबलमा प्रारम्भिक ५०–५० जना महिला खेलाडीलाई पूर्ण रूपमा निःशुल्क प्रशिक्षण उपलब्ध गराइने घोषणा गरिएको छ । जोनका कोषाध्यक्ष राज ढकालका अनुसार निःशुल्क भर्ना तथा मासिक शुल्कमा छुट व्यवस्था लागू भएपछि महिला खेलाडीको सहभागिता अझै बढ्ने अपेक्षा गरिएको छ ।

sports

प्रदेशमा वर्षातका समयमा खेल तथा प्रशिक्षण अवरुद्ध हुने समस्यालाई समाधान गर्न वर्षभर अविच्छिन्न रूपमा अभ्यास गर्न सकिने १२ महिने प्रशिक्षण वातावरण जोनले निर्माण गरेको ढकालले बताए । उनका अनुसार प्रतिकूल मौसमका कारण खेल अभ्यास अवरुद्ध नहुने संरचना जोनको अर्को विशेषता हो ।

विविध खेल गतिविधिलाई एउटै स्थानमा एकीकृत गर्ने उद्देश्यअनुसार आगामी वर्षहरूमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोनलगायत थप आधुनिक पूर्वाधार विस्तारको तयारी पनि गरिएको छ । लगानीकर्ताहरूले यो जोनलाई ‘देशकै नमुना बहुउद्देश्यीय खेलकुद केन्द्र’का रूपमा विकास गर्ने दृढता व्यक्त गरेका छन् ।

५ करोड लगानीको जोन सञ्चालनमा आएसँगै कोशी प्रदेशको खेलकुद क्षेत्रमा दीर्घकालीन फड्को मार्ने अपेक्षा गरिएको छ । खेलाडी, प्रशिक्षक, खेलप्रेमी र निजी क्षेत्रका लगानीकर्तालाई एकीकृत रूपमा जोड्दै प्रदेशको खेलकुद विकासमा नयाँ युग सुरु गर्ने आधार यस परियोजनाले तयार गरेको बताइन्छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार