विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वितीय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् ।
द्वितीय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा कार्यक्रमको आयोजना गरी नवागन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, गजल, कविता, नृत्य, क्यारिकेचर, फेसन शो प्रस्तुत गरेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, शिक्षकहरू रूपेश कोइराला, दिपेश बाँस्तोला लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।
अनुशासित भएर शिक्षा आर्जन गर्न आग्रह गर्दै उनीहरूले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरे । पहिलो वर्षको कक्षा शुरू हुने बित्तिकै द्वितीय वर्षको परीक्षा शुरू भएको, परीक्षालगत्तै केही समय क्याम्पस बिदा भएका कारण स्वागत कार्यक्रम केही ढिलाई भएको द्वितीय वर्षका विद्यार्थीको भनाइ छ ।
कलेज अफ लले पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबीको अध्यापन गर्दै आएको छ । बीए एलएलबी अध्ययनका लागि देशभरबाट विद्यार्थी आउने गरेका छन् ।
प्रतिक्रिया