देउवासँगको अन्तिम वार्ता विफल, महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

बुधबार, ३० पुस २०८२

काठमाडौं। नेपाली कांग्रेसमा संस्थापनको हेपाहा प्रवृत्ति बढेसँगै सहमतिमा जाने वार्ता विफल भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले बिहान आफ्नै निवासमा बोलाएको भए पनि सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो।

महामन्त्रीद्वयले कांग्रेसलाई एकढिक्का गराएर लैजानुपर्छ भन्दै अन्तिम समयसम्म पनि सहमतिका लागि पर्खने रणनीति लिएअनुसार आज बिहान वार्ता भएको हो।

यद्यपि त्यो वार्तामा आफूहरू अपमानित हुनुपरेको महसुस गर्दै फर्कनु परेको छ। वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि महामन्त्रीद्वय अब विशेष महाधिवेशन प्रतिनिधिहरूको निर्णयका आधारमा अगाडि बढ्ने भन्दै फर्केका छन्।

वार्तामा देउवाका पक्षबाट डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजाल लगायतका नेताहरू सहभागी थिए।

योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ। सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो । त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो।

निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए। उनले भने, ‘समय थप गरिएको छ अब निरन्तर प्रक्रिया अगाडि बढ्छ।’

अत्यधिक रुपमा महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा आउने क्रम जारी रहेको छ। उनीहरू अब निर्वाचनमा सहभागी भएरै छिनोफोनो गर्ने भनी आक्रोश व्यक्त गरिरहेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर  देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।

छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निर्क्यौल निकाल्न सुझाव दिएका थिए ।

देउवासँग भएको छलफलबारे कानुन विद्‍सँग महामन्त्रीद्वय थापा र शर्माले कुराकानी गरिरहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

सभापति देउवासँग बुधबार बिहान भएको छलफलमा सहमति हुन नसकेपछि थापा र शर्मा देउवा निवासबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार