झापामा ९० जनाको मनोनयन दर्ता, पाँचै क्षेत्रमा हेभिवेट भिडन्त, यी हुन् पाँचै क्षेत्रका उम्मेदवारहरू

बुधबार, ०७ माघ २०८२

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–१, २, ३, ४ र ५ नम्बर क्षेत्रमा हेभिवेट नेतासहित १७ जना स्वतन्त्र र ७३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्।

यसपटक झापाका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थिति देखिएको छ। झापा–१ बाट २ जना, झापा–२ बाट ३ जना, झापा–३ बाट २ जना, झापा–४ बाट १ जना र झापा–५ बाट ९ जना गरी जम्मा १७ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

सबैभन्दा धेरै प्रतिस्पर्धा झापा–५ मा देखिएको छ। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), नेपाल कम्युनिस्ट पार्टीका रञ्जित तामाङलगायत स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। शीर्ष नेताको भिडन्तका कारण झापा–५ देशकै सर्वाधिक चासोको क्षेत्रका रूपमा देखिएको छ।

झापा–४ मा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, नेकपा (एमाले) का नेता लालप्रसाद साँवा लिम्बू तथा स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका छन्। यहाँ पनि प्रभावशाली नेताबीच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ।

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका तर्फबाट राजेन्द्रकुमार घिमिरे तथा स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन्। लिङ्देनको पुनरागमन प्रयासले यो क्षेत्र उच्च प्रोफाइलको प्रतिस्पर्धातर्फ उन्मुख बनेको छ।

झापा–२ मा सङ्घीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर, नेपाली काङ्ग्रेसकी सरिता प्रसाईँ, राप्रपाका भद्रप्रसाद नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अर्जुनकुमार पाण्डेलगायत स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

झापा–१ मा नेकपा (एमाले) का रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका केशवराज पाण्डे, नेपाल कम्युनिस्ट पार्टीका अशेष घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्की, श्रम संस्कृति पार्टीका केवलराम राई तथा स्वतन्त्रतर्फ मेचीनगर–८ का गणेशप्रसाद खरेल र बुद्धशान्ति–५ का दुर्गाबहादुर साँवा लिम्बुसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार देशभर प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रसहित २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। झापामा भने पाँचै क्षेत्रमा हेभिवेट नेताको उपस्थितिले चुनावी सरगर्मी थप चर्किएको छ। झापामा २१ दल चुनावी प्रतिस्पर्धामा छन्।

उम्मेदवार विवरण

झापा निर्वाचन क्षेत्र नं. १

(मेचीनगर–७ स्थित निर्वाचन अधिकृत कार्यालय)

१) राष्ट्रिय स्वतन्त्र पार्टी – निशा डाँगी
२) मंगोल नेशनल अर्गनाइजेशन – सन्तोष तामाङ
३) श्रम संस्कृति पार्टी – केवलराम राई
४) नेकपा (एमाले) – रामचन्द्र उप्रेती
५) नेपाल कम्युनिस्ट पार्टी – अशेष घिमिरे
६) उज्यालो नेपाल पार्टी – नरेशकुमार लावती
७) राष्ट्रिय प्रजातन्त्र पार्टी – हेमराज कार्की
८) नेपाली कांग्रेस – केशवराज पाण्डे
९) स्वतन्त्र – दुर्गाबहादुर साँवा लिम्बू
१०) स्वतन्त्र – गणेशकुमार पोखरेल
११) नेपाल जनमुक्ति पार्टी – खान्द्रु कुरुवा
१२) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – मनबहादुर साँवा लिम्बू
१३) जनता समाजवादी पार्टी – रमा मेचे
१४) नेपाल मजदुर किसान पार्टी – हिरणकुमार भट्टराई
१५) नेपाल सद्भावना पार्टी – ओलिन राजवंशी


झापा निर्वाचन क्षेत्र नं. २

(अर्जुनधारा–८ स्थित निर्वाचन अधिकृत कार्यालय)

१) राष्ट्रिय प्रजातन्त्र पार्टी – भद्रप्रसाद नेपाल
२) राष्ट्रिय स्वतन्त्र पार्टी – इन्दिरा राना मगर
३) मंगोल नेशनल अर्गनाइजेशन – अकलबहादुर तामाङ
४) नेपाल मजदुर किसान पार्टी – चन्द्रकुमारी गारु
५) जनता समाजवादी पार्टी – तिलबहादुर राई
६) श्रम संस्कृति पार्टी – केशवबहादुर भण्डारी
७) नेकपा (एमाले) – देवराज घिमिरे
८) नेपाल कम्युनिस्ट पार्टी – धर्मशिला चापागाईं
९) नेपाली कांग्रेस – सरिता प्रसाई
१०) उज्यालो नेपाल पार्टी – चुडाकर्ण बेघा
११) नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) – श्रीप्रसाद सिटौला
१२) स्वतन्त्र – पुण्यप्रसाद आचार्य
१३) स्वतन्त्र – युवराज संग्रौला
१४) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – अमृता लावती
१५) नेकपा (माओवादी) – अर्जुनकुमार पाण्डे
१६) स्वतन्त्र – रमेशकुमार कार्की
१७) जनमत पार्टी – रमेशकुमार राजवंशी
१८) नेपाल जनमुक्ति पार्टी – मानबहादुर पुलामी मगर


झापा निर्वाचन क्षेत्र नं. ३

(चन्द्रगढी स्थित निर्वाचन अधिकृत कार्यालय)

१) राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाश पाठक
२) नेपाल मजदुर किसान पार्टी – धर्मलक्ष्मी लधु
३) राष्ट्रिय प्रजातन्त्र पार्टी – राजेन्द्र लिङ्देन
४) जनमत पार्टी – हर्षलाल राजवंशी
५) मंगोल नेशनल अर्गनाइजेशन – यमकुमार श्रेष्ठ
६) श्रम संस्कृति पार्टी – दीपक तिम्सिना
७) नेकपा (एमाले) – हरि राजवंशी
८) नेपाली कांग्रेस – राजेन्द्रकुमार घिमिरे
९) नेपाल कम्युनिस्ट पार्टी – डिल्लीराम घिमिरे
१०) जसपा – विनिता कुमारी राजवंशी
११) स्वतन्त्र – मानबहादुर संग्रौला
१२) उज्यालो नेपाल पार्टी – श्यामकृष्ण पाठक
१३) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – चन्द्रकला साँवा
१४) जसपा नेपाल – कर्णलाल राजवंशी
१५) स्वतन्त्र – अभय राजवंशी
१६) नेशनल रिपब्लिक नेपाल – जयन मगर
१७) नेकपा (माओवादी विप्लव) – सन्तोष कटुवाल


झापा निर्वाचन क्षेत्र नं. ४

(कन्काई–१ स्थित निर्वाचन अधिकृत कार्यालय)

१) राष्ट्रिय प्रजातन्त्र पार्टी – भक्तिप्रसाद सिटौला
२) राष्ट्रिय स्वतन्त्र पार्टी – शम्भु प्रसाद ढकाल
३) मंगोल नेशनल अर्गनाइजेशन – दिलिप धिमाल
४) नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) – टेकबहादुर अधिकारी
५) श्रम संस्कृति पार्टी – अमृतादेवी राई
६) नेकपा (एमाले) – लालप्रसाद साँवा लिम्बू
७) नेपाल कम्युनिस्ट पार्टी – पुरुषोत्तम चुडाल
८) नेपाली कांग्रेस – देउकुमार थेवे
९) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – किरण लिम्बू लिङ्देन
१०) उज्यालो नेपाल पार्टी – सन्तोष तामाङ
११) नेकपा (माओवादी) – ताराबहादुर थापा
१२) नेपाल मजदुर किसान पार्टी – तुलसीलक्ष्मी दुमरु
१३) स्वतन्त्र – साजन माझी
१४) जनता समाजवादी पार्टी – पल्टन ताजपुरिया
१५) जनमत पार्टी – लोश्रो हेमरम
१६) राष्ट्रिय मुक्ति पार्टी – त्रिनारायण राजवंशी


झापा निर्वाचन क्षेत्र नं. ५

(दमक–८ स्थित निर्वाचन अधिकृत कार्यालय)

१) राष्ट्रिय मुक्ति पार्टी – अमृत रसाइली
२) जनमत पार्टी – अमृतलाल महतो
३) नेकपा (एमाले) – केपी शर्मा ओली
४) पिपुल्स फर्स्ट पार्टी – धर्मराज गुरागाईं
५) नेपाल जनमुक्ति पार्टी – पदमबहादुर जबेगु
६) स्वतन्त्र – प्रकाश नेपाल
७) नेपाली कांग्रेस – मन्धरा चिमरिया
८) स्वतन्त्र – मातृका भट्टराई
९) नेपाल कम्युनिस्ट पार्टी – रञ्जित तामाङ
१०) राष्ट्रिय प्रजातन्त्र पार्टी – लक्ष्मीप्रसाद संग्रौला
११) राष्ट्रिय स्वतन्त्र पार्टी – बालेन्द्र शाह
१२) स्वतन्त्र – शोभा भण्डारी
१३) नेकपा (माओवादी) – सञ्जय राई
१४) राष्ट्रिय परिवर्तन पार्टी – सविन राई
१५) मंगोल नेशनल अर्गनाइजेशन – सानबहादुर मेचे
१६) स्वतन्त्र – अर्जुन सापकोटा
१७) स्वतन्त्र – खेमनाथ शिवाकोटी
१८) स्वतन्त्र – डम्बर शाह
१९) जनता समाजवादी पार्टी – धिरेन सुब्बा
२०) स्वतन्त्र – पुष्कर खतिवडा
२१) स्वतन्त्र – प्रकाश नेपाल
२२) स्वतन्त्र – रञ्जना गौतम
२३) स्वतन्त्र – विपुल गुरागाईं
२४) श्रम संस्कृति पार्टी – समिर तामाङ

 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार