कोशी प्रदेश सरकार अन्तर्गतका कर्मचारीले पेन्सन पाउने

बुधबार, ०७ माघ २०८२

विराटनगर : कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूले योगदानमूलक निवृत्तिभरण (पेन्सन) पाउने भएका छन। कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको हो  । 

वि.सं.२०७६ साउन १ गते यता कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण (पेन्सन) व्यवस्थापन गर्ने विषयमा प्रदेश सरकार र कर्मचारी सञ्चय कोषविच सम्झौता भएको छ ।

सम्झौतामा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार, सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारीको खातामा जति रकम कट्टी हुन्छ, त्यसमा प्रदेश सरकारले शतप्रतिशत अर्थात् थप ६ प्रतिशत रकम थपिदिने प्रावधान राखिएको छ । यसरी जम्मा भएको कुल १२ प्रतिशत रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ । 

सम्झौता कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले यो सम्झौताले कर्मचारीहरूमा नयाँ उत्साह र ऊर्जा भर्ने विश्वास व्यक्त गरे । मन्त्री लिङ्थेपले भने, “यो ऐन र सम्झौता केवल पेन्सनका लागि मात्र होइन, कर्मचारीको सामाजिक सुरक्षाका लागि पनि हो । कर्मचारीको असामायिक मृत्यु भएको खण्डमा उसको परिवार, पति÷पत्नी वा छोराछोरीको भरणपोषण र भविष्यको सुरक्षाका विषयमा समेत हामीले लामो छलफल गरेर यो व्यवस्था ल्याएका हौं । कर्मचारीको पिरमर्कामा सरकार सधैं साथमा छ । मन्त्रीको भनाई रहेको थियो । 

मन्त्री लिङ्थेपले कर्मचारी सञ्चय कोष एक भरपर्दो र विश्वासिलो संस्था भएको उल्लेख गर्दै अब कर्मचारीहरू ढुक्क भएर काममा लाग्न सक्ने वातावरण बनेको समेत बताए ।  “जब कर्मचारीको भविष्य सुरक्षित हुन्छ, तब उनीहरू कामप्रति थप जागृत र उत्प्रेरित हुन्छन् । यसले कोशी प्रदेशको सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनेछ र नागरिकले उत्कृष्ट सेवा पाउनेछन्,“ मन्त्रीले थपे । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार