झापा : राजनीतिक प्रणाली पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि शिक्षा नीति भने दशकौँ अघिकै ढाँचामा अड्किएको भन्दै त्यसकै परिणामस्वरूप मुलुकले अपेक्षित प्रगति हासिल गर्न नसकेको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले वताएका छन्।
विर्तामोडको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका थापाले शिक्षा क्षेत्रको आमूल सुधार नगरी देश विकासको कल्पना सम्भव नहुने बताएका हुन्।
बिर्तामोड नगरपालिका वडा नम्कबर १० मा रहेको महेन्द्र ज्योति माविमा विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै थापाले २०२८ सालको शिक्षा नीतिलाई आधार मानेर आज पनि शिक्षा प्रणाली सञ्चालन भइरहेको उल्लेख गरे । थापाले ‘मुलुकमा पञ्चायत गयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर शिक्षा क्षेत्रमा सार्थक परिवर्तन आउन सकेन,’ यसैले हाम्रो शिक्षा क्षेत्रको अवस्था कस्तो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’ भने ।
काँग्रेस नेता थापाले शिक्षा विना चौतर्फी विकास र समृद्धि सम्भव नहुने स्पष्ट पार्दै देश विकासको मेरुदण्ड नै शिक्षा भएको बताए । तर राज्यले बजेट निर्माणका क्रममा शिक्षा क्षेत्रलाई सधैं ओझेलमा पार्दै आएको समेत थापाले गुनासो गरे । असल नागरिक उत्पादन गर्न सक्ने शिक्षा नीति नआएसम्म देशले परिकल्पना गरेअनुसारको समृद्धि हासिल गर्न नसक्ने नेता थापाको भनाई रहेको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहले बालबालिकालाई लक्षित गर्दै स्वीटर वितरण गरेको थियो । महेन्द्र ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बिर्तामोड वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले विद्यालयका पूर्वविद्यार्थी अमर रिसालले आफ्नी श्रीमती अनिताको जन्मदिनको अवसरमा प्रदान गरेको रकमबाट २२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।
सो समारोहमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंलगायत व्यक्तित्वहरूले विद्यालयको अवस्थाप्रति चासो व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको शैक्षिक अवस्था तथा विद्यार्थीहरूको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया