काठमाडौँ: प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस उल्लेखनीय रूपमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको छ।
विगतमा आन्तरिक विवाद र गुटबन्दीका कारण चर्चामा रहने यो जिल्लामा यसपटक कांग्रेसभित्रको एकताले नयाँ सन्देश दिएको छ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।
यसअघि पनि यही क्षेत्रबाट निर्वाचित सांसद रहेका चौधरी पार्टीको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्।
लामो समयसम्म पार्टीभित्र विवादको केन्द्रमा रहेका तत्कालीन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै जिल्लामा देखिँदै आएको आन्तरिक असमझदारी अन्त्य भएको स्थानीय नेताहरू बताउँछन्।
खनालको बहिर्गमनपछि कांग्रेस सङ्गठन थप सुदृढ र सक्रिय बनेको उनीहरूको भनाइ छ।
पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले कांग्रेस एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक र सुखद सन्देश भएको बताए। उनले पार्टी एकताले चुनावी नतिजा मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाई पनि गति दिने विश्वास व्यक्त गरे।
त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पार्टी पूर्ण रूपमा एकताबद्ध भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने दाबी गरे। उनका अनुसार वडा, जिल्ला र प्रदेश तहका सबै नेता–कार्यकर्ता एउटै लक्ष्य र उद्देश्यका साथ चुनावी अभियानमा सक्रिय छन्।
केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र आम कांग्रेस कार्यकर्ताको साथ र सहयोगमा विनोद चौधरी चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्।
आज मात्रै उनले जिल्लाका केन्द्रीय सदस्य, पूर्वसांसद, पार्टी नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट र छलफल गरेका छन्।
छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टी एकताबद्ध भएर चुनावमा होमिएको देख्दा आफू निकै उत्साहित र खुसी भएको बताए।
‘अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो। यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,’ उनले भने।
कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै जिल्लाको विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका चौधरीले कांग्रेसभित्र देखिएको यो एकताले पश्चिम नवलपरासीको चुनावी माहौललाई थप सकारात्मक बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
प्रतिक्रिया