झापा : इलाम रोङ गाउँपालिका–४ भालुझोडास्थित मेची राजमार्गमा शुक्रबार साँझ भएको बस–पिकअप दुर्घटनामा ८ जना घाइते भएका छन्। साँझ कन्यामबाट झापा तर्फ आउँदै गरेको बसले सडकछेउमा बिग्रेर रोकेर राखिएको पिकअपलाई ठक्कर दिएपछि दुर्घटना भएको इलाम प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झापा दमकबाट पर्यटक लिएर इलाम आएको प्र–१–०२–००२ ख १०५५ नम्बरको बसले खाद्यान्न बोकेको प्र–१–०१–००१ च ८२१७ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो। ठक्करपछि पिकअप करिब ५० मिटर तल खसेको छ।
घटनास्थलमा प्रहरी चौकी किटेनीबाट प्रहरी नायब निरीक्षक राजन कटुवालको कमाण्डमा ट्राफिकसहितको टोली परिचालन गरिएको थियो।
दुर्घटनामा बसमा सवार ४३ जनामध्ये ६ जना र पिकअप चालक तथा सहचालक गरी २ जना घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी झापास्थित विराट सिटी अस्पतालतर्फ पठाइएको छ।
बस चालक झापा दमक–८ का ३२ वर्षीय घनश्याम खतिवडा प्रहरी नियन्त्रणमा छन्।
घाइतेहरुको अवस्था सामान्य रहेको बुझिएको छ ।
प्रतिक्रिया