झापा : पेशागत बीमा अभिकर्ता सङ्घ नेपाल, विमक समिति तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झापाको पाँचौँ अधिवेशनबाट वेदनारायण गोदार अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
बिर्तमोडस्थित सिटी सेन्टरमा गएराति सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा केदारनाथ ढुङ्गेल, सचिवमा कुमार माझी, सहसचिवमा यानु कुमारी गौतम र कोषाध्यक्षमा सुरेश गौतम चयन भएका छन् । सदस्यहरूमा तारा बस्नेत, युवराज कटुवाल, चेत बानिया, शिवकुमार लिम्बू, चन्द्रबहादुर राई, कृष्ण सिग्देल, यशोदा राई, पूर्णिमा राजवंशी, रिमा राई र तुलसा वाराकोटी कुँवर चयन भएका छन् ।
तारा कार्कीको सभापतित्व तथा पेशागत बीमा अभिकर्ता सङ्घ नेपाल, विमक समिति र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
प्रमुख अतिथि अधिकारीले बीमा क्षेत्रमा अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्ताको पेशागत मर्यादा, सीप र इमानदारितामै बीमा क्षेत्रको विश्वसनीयता निर्भर रहने बताए । उनले सङ्घले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, अनुशासन र पारदर्शिताका विषयमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष गोदारले अभिकर्ताहरूको हकहित संरक्षण, पेशागत विकास र बीमा सेवाप्रति आम नागरिकको विश्वास बढाउने उद्देश्यका साथ सङ्घलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घलाई तालिम, अभिमुखीकरण, अनुभव आदानप्रदान तथा आचारसंहिता कार्यान्वयनमा केन्द्रित गरिने बताए ।
नव निर्वाचित अध्यक्ष गोदारले पेशागत बीमा अभिकर्ता सङ्घको जिल्ला समिति अभिकर्ताहरूको पेशागत सङ्गठनका रूपमा काम गर्ने धारणा राख्दै अभिकर्ताहरूको हकहित संरक्षण गर्नु, पेशागत मर्यादा कायम गराउनु र बीमा व्यवसायलाई व्यवस्थित तथा पारदर्शी बनाउने बताए ।
झापामा नेतृत्वको निरन्तरता
झापामा सङ्घका संस्थापक अध्यक्ष वेनुप्रसाद सिटौला (स्व) हुन् । त्यसयता शिवबहादुर कटुवाल, भीमबहादुर कुँवर र तारा कार्कीले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। पाँचौँ अधिवेशनबाट वेदनारायण गोदार अध्यक्षमा चयन भएसँगै नेतृत्वको नयाँ चरण सुरु भएको सङ्घले जनाएको छ ।
नव-निर्वाचित अध्यक्ष गोदार लायन्स क्लब अफ इन्स्योरेन्स प्रोफेसनल इटहरीका रिजनल अध्यक्ष तथा अर्जुनधारा जेसीजका निवर्तमान अध्यक्षसमेत हुन्।
अधिवेशनले आगामी कार्यकालमा अभिकर्ताको पेशागत क्षमता अभिवृद्धि, सङ्गठन विस्तार, बीमा सचेतना अभियान र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णयसमेत गरेको छ।
प्रतिक्रिया