काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ।
यस्तै, आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने अवधि तोकिएको थियो।
उक्त दिन बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उजुरी दर्ता गरिएको थियो। सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार साँझ ५ः०० बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्दै उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रबाट कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला र एक जना अन्य रहेका छन्।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने छ। कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन्।
प्रतिक्रिया