विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधासम्पन्न सभाहल बन्ने भएको छ । बिश्वबिद्यालय परिषरमा बन्न लागेको सात सय ५० सीट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ ।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सभाकक्ष बनाइदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यालयको शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सह–कुलपति अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनीतीकरण गरिएको बताए । राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा बिकृति आएको बताए ।
विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनिति गर्दा विश्वविद्यालयलाई घाटा भैरहेको मन्त्री राईको भनाई छ । अन्य देशमा राजनीतिक ब्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्शा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमती पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गरे ।
आगामी शैक्षिक शत्रदेखि एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उनीहरूको भनाई छ । लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमती कुरेर बसेको विश्वविद्यालयले यसैबर्ष मात्र अनुमति पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरुको भनाई छ ।
प्रतिक्रिया