इटहरी । इटहरीस्थित नमुना कलेजले विद्यार्थीबाट मनोमानी रकम असुल गरेको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र स्वतन्त्र विद्यार्थी समूहले आज (आइतबार) क्याम्पस प्रमुख धर्म न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीबाट मनोमानी उठाएको शुल्क फिर्ता गर्न माग गरेका हुन्
अनेरास्ववियूका सुनसरी जिल्ला अध्यक्ष अतित किरण नेपाल र स्वतन्त्र विद्यार्थी समूहका संयोजक सम्राट थापाले स्नातक तहको चारित्रिक प्रमाणपत्र लिँदा ५ हजार रकम तिर्नुपर्ने निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको हो ।
यस्तै केही समयअघि क्याम्पसको लापरबाहीका कारण प्रयोगात्मक परीक्षामा हाजिरी छुट भएर एक वर्ष खेर गएको घटना पनि बाहिरिएको भन्दै सत्यतथ्य बाहिर ल्याउन समेत माग गरिएको छ ।
कलेजकै कारण विद्यार्थीको एक वर्ष खेर गएको हो भने विद्यार्थीमाथि परेको मानसिक तथा आर्थिक क्षति क्याम्पसले जिम्मा लिनुपर्ने विद्यार्थी संगठनले माग गरेका छन् ।
उनीहरुले विषयलाई क्याम्पस प्रशासनले गम्भीर रुपमा लिनुपर्ने बताउँदै सार्वजनिक माफी माग्न आग्रह गरेका छन् । ७२ घण्टाभित्र माग गरिएका विषयको समाधान नभए आन्दोलनमा उत्रिन बाध्य हुने संगठनले चुनौती दिएका छन् ।
यस्तै चारित्रिक प्रमाणपत्र लिँदा विद्यार्थीले चर्काे शुल्क तिर्नु परेको घटना बाहिरिए लगत्तै नेपाल विद्यार्थी संघ सुनसरीले समेत आपत्ति जनाएको छ । जिल्ला सभापति प्रमोद भट्टराईले निर्णय तुरुन्त सच्याउन माग गर्दै अनेक बहानामा विद्यार्थीबाट रकम असुल्ने कार्य बन्द गर्न चेतावनी दिएका छन् ।
नमुना क्याम्पसमा अध्ययनरत कृष्णप्रसाद भट्टराईले स्नातकतहको चारित्रिक प्रमाणपत्र निकाल्नका लागि ५ हजार रुपैंया तिर्नु परेको गुनासो गरेका थिए । उनले नमुना कलेजबाट लुटिएको भन्दै चर्काे रकम असुल्ने कलेजलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया