विराटनगर । नेपाल स्काउटको ७२औं स्थापना दिवस अवसरमा प्रदेश स्काउट कार्यालयले पदक वितरण गरेको छ ।
विराटनगर–५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश प्रमुख स्काउट बुद्धिकुमार राजभण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पदक र प्रशंशा पत्र वितरण गरेका हुन् ।
२०७८ मा नेपाल स्काउटले घोषणा गरेको कोभिड–१९ संक्रमणको समयमा शव व्यवस्थापन गर्ने स्काउटरहरुलाई पराक्रमी पट्ट पदक तथा प्रशंसा पत्रले सम्मान गरिएको छ ।
यस्तै डाक्टर अन कल कार्यक्रम मार्फत चिकित्सा परामर्श सेवा उपलब्ध गराउने चिकित्सकहरुलाई स्वयंसेवी पदक र एसएमएस, खाद्यन्न बितरण र क्वारेन्टाइन व्यवस्थापनमा काम गर्ने स्काउटर, रोभर र रेन्जरहरुलाई स्वयंसेवी पदक र प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा मन्त्री राजभण्डारीले साहसी कार्यमा संलग्नहरुलाई धन्यवाद दिँदै कोशी प्रदेशमा स्काउटको विकास र विस्तारका लागि प्रदेश सरकारले उचित सहयोग गर्ने बताए ।
उनले आवश्यक सबै सहयोग गर्न मन्त्रालय र प्रदेश सरकार सदैव अभिभावकको रुपमा उपस्थित हुने बताए ।
कार्यक्रममा राष्ट्रिय प्रशिक्षकहरु, प्रदेश तदर्थ समितिका पदाधिकारीहरु, चिकित्सक तथा पत्रकारहरुको उपस्थिति थियो ।
यस्तै एड्भान्स स्काउट लिडर, स्काउट लिडर, रोभर–रेन्जर र स्काउटरहरु को उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपाल स्काउट, कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनालले गरेका थिए ।
कार्यक्रममा समिति सदस्य हेमन्त भण्डारीले स्वागत मन्तव्य राखेका थिए । स्काउट कोशी प्रदेश अधिकृत नवराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया