निःशुल्क पढाइ हुने विद्यालयका लागि व्यवस्थित भवन तयार

शुक्रबार, १५ असार २०८०
धरान । कक्षा ८ सम्म निःशुल्क रुपमा अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको सत्य साई स्कुलको व्यवस्थित भवन निर्माण गरिएको छ । लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेशन र धरानका पाँचवटा क्लबहरुको सहयोगमा भवन बनाइएको हो । ‘लायन्स सत्य साई स्कुल भवन’ को उद्घाटन गरी हस्तान्तरण गरिएको छ । १२ कोठा भएको सुविधासम्पन्न दुई तले भवन बनाइएको छ । भवनको लायन्सका पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतानले उद्घाटन गरेका थिए । भवनको चाबी प्रमुख अतिथि खेतानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनसेवक भण्डारी, प्रधानाध्यापक विश्वराज खनाललाई हस्तान्तरण गरेका थिए । लायन्सका डिष्ट्रिक गर्भनर धिरज गुरुङले भवन १ करोड ७० लाख बराबरको लागतमा निर्माण भएको जानकारी दिए । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले लायन्सको कामको प्रशंसा गरे । लायक क्लब क्यापेबलका फस्ट उपाध्यक्ष निश्चल पलिखेले १० हजार, महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई र रेखा गुरुङले २५ हजार, किरण राजभण्डारीले ११ हजार, बालाजी स्टोर्सका सुरेश अग्रवालले २५ हजार, लायन्स क्लब अफ धरान पञ्चकन्याले शिक्षाका लागि एक रुपैयाँ अभियानबाट संकलित १५ सय थान कापी प्रदान गरेको थियो । भवन लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनको आर्थिक सहयोग, लायन्स क्लब अफ धरान बुढासुब्बा, लायन्स क्लब अफ दन्तकाली धरान, लायन्स क्लब अफ विजयपुर, लायन्स क्लब अफ पाँचकन्या र लायन्स क्लब अफ धरान गुम्बाको आर्थिक तथा भौतिक सहयोगमा निर्माण सम्पन्न भएको हो । २०५९ सालमा निजी क्षेत्रबाट शैक्षिक गुठीमार्फत् स्थापना भएको स्कुलमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा निःशुल्क अध्ययन अध्यापन गराइन्छ । विद्यार्थीहरुलाई औषधिसमेत निःशुल्क दिने गरिएको छ । विद्यालयमा २२५ जनाभन्दा बढी विद्यार्थी छन् । टाढाबाट आउने विद्यार्थीको सुविधाका लागि न्यूनतम शुल्कमा बसको व्यवस्था समेत गरिएको छ । सहयोगीहरुवाट आर्थिक संकलन गरेर अक्षयकोष खडा गरी प्राप्त ब्याजबाट शिक्षक र कर्मचारीहरुलाई मासिक तलब र अरु खर्चको व्यवस्था गरिरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार