सर्बियन गोलरक्षक कुपिज झापा एफसीमा अनुबन्धित

मंगलबार, १४ कार्तिक २०८०
झापा । सर्बियन गोलरक्षक स्टेफन कुपिज दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि झापा एफसीसँग अनुबन्धित भएका छन् । झापा एफसीका लागि पहिलो विदेशी खेलाडीको रूपमा कुपिज अनुबन्धित भएका हुन् । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको जानकारी दिएको हो । सर्बियाको यु-१७, यु-१९, यु-२१, यु-२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालपफायर र युरोपा लिग क्वालिफायर जस्ता चर्चित युरोपियन लिगमा खेलेको अनुभव छ । २९ वर्षीय सर्बियन गोलकिपर कुपिजको एशियन फुटबलमा पहिलो अनुभव हुनेछ । झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी रहेको र आफूले यसलाई चुनौतीको रूपमा पनि लिएको उनले बताए । ‘झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी छु । मेरो लागि यो नयाँ चुनौती हुनेछ किनकी एशियाली फुटबलमा यो मेरो पहिलो यात्रा हो । अन्य युरोपियन खेलाडीहरू पनि आउने सुनेको छु’, कुपिजले भनेका छन्, ‘नेपाली फुटबलको लागि पनि यो वर्ष महत्वपूर्ण हनेछ । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्याउने छु ।’ ‘युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका स्टेफनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । उनको आगमनले टिममा छुट्टै उर्जा मिल्ने आशा लिगेका छौं । उनको अनुभव टिमको लागि महत्वपूर्ण हनेछ’, झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले भने । हामी नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गरिरहेको र उनको आगमनले टिम बलियो भएको दाबी गर्दै उनीसँगै थुप्रै युरोपियन खेलाडी नेपाल आउने हुँदा नेपाली फुटबलको उचाई बढ्ने झापा एफसीका अध्यक्ष अर्पण बिक्रम खड्काको दाबी छ । झापा एफसीलाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनीय भूमिका खेल्ने विश्वास लिएको बताउँदै उनले स्टेफनलाई अनुबन्ध गराउनुको कारण खुलाए । झापा एफसीले यसअघि मुख्य प्रशिक्षकको रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ । झापा एफसी दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोलीमध्ये एक हो । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार