इलाम २ का उम्मेदवारको अन्तिम नामावली प्रकाशन

मंगलबार, २७ चैत्र २०८०
इलाम चैत्र / इलाम २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेदवार इलाम नगरपालिका ११ का केशवकुमार चापागाईँले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको हो । उम्मेदवारविरुद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय इलामले जनाएको छ । सोमबार कार्यालयले मनोनयन जाँचबुझ गर्दै सबै मनोनयनकर्ताको नामावली प्रकाशन गरेको थियो । मनोनयन दर्ता गराएका नेपाली काँग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बु तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम), नेकपा समाजवादीले माइजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङको नाम कार्यालयले प्रकाशन गरेको छ । यसै गरी राप्रपा नेपालका उम्मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मङ्गोल नेशनल अर्गनाईजेसनका मनीबहादुर लिम्बु, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेसम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहको नाम पनि प्रकाशित छ । स्वतन्त्र उम्मेदवारी दिएका डाँकप्रसाद गौतम, दिपेश बोहोरा, डकेन्द्रसिं लिम्बु (थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम अन्तिम नामावलीमा उल्लेख छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले कायम रहेका उम्मेदवारहरुलाई आजै चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार