इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

शनिबार, १५ बैशाख २०८१
काठमाडौँ । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ । इलाम- २ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिँदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ । त्यसपछि राति नै मत गणना सुरु हुने छ । त्यसतै बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र सङ्कलन भइसक्ने आयोगले जनाएको छ । आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाई मार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना सुरु हुने आयोगले जनाएको छ । शनिवार सम्पन्न मतदानमा इलाम.२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ । यस उपनिर्वाचनमा इलाम.२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए । यसअघि २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार