कुमार पृथु
मानव जीवन अमूल्य छ र यो क्रम गति चलिरहनु परम यथार्थ सत्य हो । जीवनको यो क्रम गति, कर्म गति सँग अनिवार्य एवं अभिन्न रूपमा टाँसिएको छ । यो संसार कर्म प्रधान हो । कर्मबाट धर्म तथा धर्मबाट सुख शान्ति प्राप्त हुन्छ । कर्म तथा उद्यमको लागि शक्ति तथा ऊर्जा अनिवार्य छ । ऊर्जाको लागि दृष्टि तथा प्रकाश शक्ति अनिवार्य हुन्छ ।
विश्वका लाखौँ लाख मानिस मधुमेह, उच्च रक्तचाप, आँखामा विभिन्न चोटपटकका कारण दृष्टिविहीन हुने गरेको छ । सहरीकरण र प्रविधि विकासको बढ्दो अवस्था सँगै मोतिया विन्दुको बिरामीको ग्राफ पनि उकालो लाग्दै गएको एउटा चित्र हो यो । नेपालको सन्दर्भमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने २० प्रतिशत भन्दा बढी प्रौढ (४० वर्ष भन्दा माथि) लाई मोतिया बिन्दु हुने गरेको देखिन्छ । नेपालको कुल दृष्टिविहिनहरु मध्ये ६५ प्रतिशत मोतिया बिन्दुको कारणले भएको देखिन्छ ।
कुमार पृथु
कुमार पृथु
यी तथ्याङ्कले देखाउँछन् दृष्टिविहीनताका प्रमुख कारणहरू मध्ये मोतिया विन्दु प्रमुख हुन् । नेपालको सन्दर्भमा आधा भन्दा बढी बिरामीहरूलाई आफू मोतिया विन्दुको बिरामी हुँ भन्ने ज्ञान समेत छैन । अझ, थाहा भएका बिरामीमा पनि उपचार गराउनु पर्छ भन्ने भावना छैन । उपचारमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति मोतिया बिन्दु नियन्त्रणको मुख्य र जटिल चुनौती हो । यस्तै अज्ञानता र हेलचक्रयाई हटाउन तथा मोतिया बिन्दु सम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्षको अक्टोबर महिनाको दोस्रो बिहीबारका दिन विश्व दृष्टि दिवस मनाउने गरिन्छ । यो दिवसको मुख्य उद्देश्य रोग बारे जनचेतना अभिवृद्धि गराई आँखा सम्बन्धी रोगहरूलाई न्यूनीकरण, परीक्षण र उपचारका लागि अभिप्रेरित गर्नु तथा त्यसबाट हुन सक्ने अन्धोपनालाई रोकथाम गर्नु हो ।
के हो मोतिया बिन्दु ?
आँखाको भित्री नानी पछाडी रहेको लेन्स पारदर्शी हुन्छ, यदि कुनै कारणवस लेन्समा दाग लागी यसको पारदर्शितामा कमि हुन गयो वा पुरै अपारदर्शी भयो भने यस्तो अवस्थालाई मोतिया विन्दु भनिन्छ । मोतिया विन्दु सुरु भएपछि रोगीको दृष्टि क्षमतामा बिस्तारै कमी आउनुको साथै कालो देखिने नानी बिस्तारै सेतो वा खैरो रङ्गको देखिन थाल्दछ । यो रोग खास गरी प्रौढ अवस्थामा हुने रोग भए तापनि कहिले काहीँ यो रोग जन्मजात वा जन्मेको केही वर्ष पछि पनि सुरु हुन्छ । यी बाहेक आँखामा चोटपटक लागेमा, मधुमेह, उच्च रक्तचाप तथा आँखा भित्र लेन्सको वरिपरिका भागमा लामो समयसम्म आँखाको कुनै रोग लागेको छ भन्ने पनि मोतिया विन्दु हुने सम्भावना हुन्छ ।
नेत्र विशेषज्ञ अनुसार दूषित वातावरण, सरसफाइ, कुपोषण, आँखा उपचार सेवाको सहज पहुँच नहुनुको कारणले मोतिया विन्दुको रोगीमा बढोत्तरी भएको छ । यसको रोकथाम तथा नियन्त्रणको लागि आम जनसमुदायको सोचमा परिवर्तन तथा जनचेतना जगाउनुको विकल्प देखिँदैन ।
नियन्त्रणका प्रमुख चुनौतीरोगको प्रकृति: मोतिया विन्दु भए पनि मानिसहरू आँखा जँचाउन, रोग पत्ता लगाउन र उपचार गराउन हेलचेक्र्याइँ गर्छन् । प्रौढ अवस्था लागे सँगै दृष्टि कम भए पनि यसले असर गर्दैन भन्ने चाहिँ छैन । मानिसहरूलाई स्वास्थ्य जीवन शैली, नियमित आँखा परीक्षण र उपचारको लागि अभिप्रेरित गर्नुको विकल्प छैन ।
जनचेतनाको कमी: यस रोगको न्यूनीकरणको लागि बढी भन्दा बढी जनचेतना आवश्यक छ । मानिसहरूले मोतिया विन्दुको बिरामी भएमा उपचार गराउनबाट हिचकिचाउँछन् । यसको एक मात्र उपचार भनेको शल्यक्रिया हो । यसको शल्यक्रिया सकेसम्म चाँडो गराउनु पर्दछ । अन्यथा अन्धोपनाको सिकार हुनुपर्दछ । त्यसैले उपचार नगराउने भन्ने धारणा हटाउनु अत्यन्त जरुरी छ ।
राज्यको दायित्व: नेपालमा मोतिया विन्दु रोगहरूलाई उन्मुलन र व्यवस्थापनका लागि प्रभावकारी र ठोस लगानी तथा नीति तय भइसकेको छैन । जसका कारण यस्ता रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा ठुलो चुनौती खडा भएको छ । मोतिया विन्दु कुनै व्यक्ति वा उसको परिवारको मात्र समस्याका रूपमा सीमित छैन । यो सिङ्गो राष्ट्रको अर्थतन्त्र सँग समेत गाँसिएको छ । त्यसैले राज्यबाट जनचेतनामूलक कार्यक्रममा लगानी आवश्यक छ । राज्यले जनताको स्वास्थ्य जीवनशैली सुनिश्चित गर्न सहयोगी कार्यक्रमहरू ल्याउनुपर्दछ ।
जस्तै: विद्यालय आँखा शिक्षा, आँखा स्वास्थ्य सम्बन्धी शिक्षा, आँखा दानको महत्त्व, आँखाको रोग सम्बन्धी प्राथमिक जानकारीका साथै दुर्गम भेग, गाउँ, पिछडिएको क्षेत्र समाजमा आँखा उपचार सेवाको प्रवर्धन गरी मोतिया विन्दुलाई न्यूनीकरण गर्न सकिन्छ । नेत्र विशेषज्ञको उत्पादनमा जोड दिनुका साथै क्षमता अभिवृद्धि गरी बिरामीहरूलाई यस्ता रोग सम्बन्धी आँखा उपचार सेवा सस्तो, गुणस्तरीय, छरितो रूपमा राज्यले उपलब्ध गराउन सकेमा मोतिया विन्दु नियन्त्रण सहज र सरल हुनेछ ।
मोतिया विन्दुको विरुद्ध राज्यसँगै हातेमालो गर्दै विभिन्न गैर सरकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आइरहेका छन् । जसमा प्रमुख छ । नेपाल नेत्र ज्योति सङ्घ जसले देश भरी आफ्ना २२ वटा आँखा अस्पतालका माध्यमबाट वर्षे नि ६ लाख को हाराहारीमा मोतिया विन्दु बिरामीको शल्यक्रिया सम्पन्न गरिरहेको छ । देशको पूर्वी क्षेत्रमा सङ्घकै मातहत रहेका विराटनगर आँखा अस्पताल, विराटनगर ले वर्षे नि चार लाख भन्दा बढी बिरामीको आँखा परीक्षण गरेको छ भन्ने ती मध्ये एक लाख भन्दा बढी मोतिया विन्दुको बिरामीको शल्यक्रिया सम्पन्न गरेको छ । यो कार्यक्रम मातहत रहेका अस्पतालहरूले सस्तो, गुणस्तरीय र विश्वस्तको प्रविधिद्वारा आँखा सम्बन्धी सबै खालका रोगको उपचार गर्ने उपत्यका भन्दा बाहिरको एक मात्र संस्था हो ।
सारमा मोतिया विन्दु सम्बन्धी समाजमा व्याप्त गलत अवधारणाहरू हटाउन जनचेतनामूलक कार्यक्रमहरू मार्फत सत्य तथ्य जनमानसमा ल्याउन र राष्ट्रले यस समस्याप्रति समयमा सजगता अपनाउनु अत्यावश्यक छ ।
प्रतिक्रिया