प्रमोद भट्टराई । आधुनिक नेपाल बनेको २५५ वर्ष पुगेको छ । यस आधारमा नेपाल दक्षिण एसियाको सबैभन्दा जेठो सार्वभौम देश हो । यसो भए पनि नेपालको गणतन्त्र भने दक्षिण एसियाकै सबैभन्दा कान्छो हो ।
नेपालमा गणतन्त्र आएको डेढ दशकमात्रै पुगेको छ । यो अवधिमा नेपालले दुईजना राष्ट्रपति पाएको छ । राजतन्त्रात्मक मुलुक हुँदा राजा राष्ट्र प्रमुख हुन्थे । गणतन्त्र आएपछि राष्ट्रपति रास्ट्र प्रमुख हुने समय आयो ।
मुलुकको पहिलो राष्ट्रपति बने नेपाली कांग्रेसका नेता रामवरण यादव । यादवको कार्यकाल २०६५ साउन ८ बाट २०७२ कात्तिक १२ सम्म भयो । यादवको सात वर्ष लामो कार्यकाल सकिएपछि बनिन् दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी ।
यादवभन्दा भण्डारीको विवाद धेरै भयो । खासगरि विधेयकहरुका मामिलामा उनले चालेका कदमहरु हेर्दा उनी देशको भन्दा एमालेको राष्ट्रपति भएको आरोप आयो ।
आगामी फागुन २९ मा कार्यकाल सकिने क्रममा रहेकी भण्डारीलाई सम्झने कुरा उनी नेपालको प्रथम महिला राष्ट्रपति हुनु र अवकासपछि सरकारी आवास नलिने घोषणाबाहेक धेरै अरु कुरा छैनन् ।
हुन त पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा निर्वाचित सरकारले गरेको प्रधानसेनापति रुकमाङ्गद कटवाल हटाउने प्रकरणमा यादवले रोकेका थिए । त्यो समयमा नागरिक सर्वोच्चताको माग लिएर माओवादी सडकमा आयो ।
तर, पछिल्लो समयमा प्रचण्डले सेनापतिप्रकरण गलत भएको भनिसकेका छन् । यसकारण यादवको कदम सही भएको माओवादी वृत्तबाटै अप्रत्यक्ष अनुमोदन भएको छ ।
फागुन २५ मा नयाँ राष्ट्रपति चुनाव हुँदैछ । नेपालको तेस्रो अनुहार राष्ट्रपति चुन्ने प्रक्रियामा देश अगाडि बढेको छ । यो महत्वपूर्ण घडीमा नेपाली कांग्रेसले सुझबुझसहित कदम चलाइरहेको छ ।
देशमा एमालेनिजक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा हुँदा नेपाली कांग्रेसले भने गैरकम्युनिष्ट र खासगरि स्वतन्त्र छविका व्यक्तिलाई राष्ट्रपति बनाउने पक्षमा लबिङ गरिरहेको छ ।
माओवादीले नेपाली कांग्रेसका मतदाताहरुबाट पाएको जनमतले तेस्रो ठूलो दल भएर प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आएको हो । तर, माओवादीले बीचैमा गठबन्धन छाडेर पहिले आफैँले प्रतिगामी भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता साझेदारी भयो ।
यस्तो विषम परिस्थितिमा समेत कांग्रेसले माओवादीसँग आक्रोस पोखेन । अरु राष्ट्रिय सहमतिको ढोका खुला राख्न विश्वासको मत संसदबाट दियो । २०५१ सालमा मनमोहन अधिकारीपछि संसदको सबैभन्दा विशाल विश्वासको मत पाउने इतिहास बनाउन प्रचण्डलाई नेपाली कांग्रेसकै साथले सहयोग गरेको हो ।
नेपाली कांग्रेसले माओवादीप्रति नरम हुने मुख्य कारण नै राष्ट्रपतिको गरिमा जोगाउन हो । पार्टी कार्यकर्ता तहको नभएर स्वतन्त्र र योग्य अनुहारलाई राष्ट्रपति बनाउने वातावरण बनाउन यो सबै गरिएको हो ।
राष्ट्रपति हुन कानुनी रुपमा पनि स्वतन्त्र हुनुपर्छ । दल त्याग गरेको हुनुपर्छ । सार्वजनिक छवि राम्रो हुनुपर्छ । रामवरण यादव दलकै नेता थिए । कांग्रेस नेता थिए । विद्यादेवी भण्डारी दलकै नेतृ थिइन् । एमालेकी नेतृ थिइन् ।
यादवले सकेसम्म स्वतन्त्र छवि बनाउन सफलता पाए । भण्डारीले त्यो सफलता पाइनन् । उनलाई आज पनि देशको भन्दा दलको राष्ट्रपति मान्छन् धेरैले । दलबाट राजीनामा दिएर मात्रै राष्ट्रपति हुन पाउने व्यवस्था अनुसार यादव र भण्डारी दुवैले राजीनामा दिएकै हुन् । तर, कागजको राजीनामा र ‘कामको राजीनामा’ फरकफरक रहेछ । भण्डारीले कामबाट राजीनामा दिएको पुष्टि गर्न सकिनन् ।
पहिलो राष्ट्रपति र दोस्रो राष्ट्रपतिको अनुभव भइसकेको छ देशमा । अब तेस्रो राष्ट्रपतिमा देश, भूगोल, भावना र माटो सुहाउँदो अनुहारको आवश्यकता छ । जत्तिकै स्वतन्त्र भनिए पनि अगुवाइ गर्ने दलले नै हो । दलका नेताले नै हो ।
जसरी केपी शर्मा ओलीले सदन बिघटन गरेपछिको संवैधानिक र कानुनी तनावको निचोड नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाले अग्रसर भएपछि मात्रै आयो ।
त्यसैगरी अहिले सत्ताधारी दलहरुमै साझा राष्ट्रपति उम्मेदवार दिन नसकेको अवस्थामा नेपाली कांग्रेसले अर्को ऐतिहासिक नेतृत्व गर्ने समय आएको छ । माटो बुझेको र आम मानिस चिनेको योग्य अनुहारलाई राष्ट्र प्रमुख बनाउन नेपाली कांग्रेसले नेतृत्व लिनैपर्छ । यो देशको माग हो । माटोको माग हो । जनताको माग हो ।
जय नेपाल !
(भट्टराई नेपाल विद्यार्थी संघ सुनसरीका नेता हुन् ।)
प्रतिक्रिया