हाम्रो पूर्वीय सभ्यतामा चलिरहेको वैदिक सनातनी परम्पराको इतिहास धेरै लामो छ । हामीले मानिरहेको हिन्दुधर्म यहि वैदिक सनातनी परम्पराबाट चलेको हुनाले यसलाई वैदिक सनातनी हिन्दूधर्म भनिएको हो र यो धर्मको इतिहास पनि वैदिक सनातनी परम्परा जत्तिकै लामो छ ।
यस परम्परालाई सञ्चालन र मार्गनिर्देश गर्ने भाषा साहित्य, संस्कृत भाषा साहित्य हो । संस्कृत भाषा साहित्य, विश्वको सबैभन्दा पुरानो भाषा साहित्य भएकोले यसलाई विश्वका सबै भाषा साहित्य मध्येको हजुआमा भाषा साहित्य भनिन्छ ।
हाम्रो धर्म र परम्परालाई मार्गनिर्देश गर्न जतिपनि ग्रन्थहरु लेखिए, ती सबै नै संस्कृत भाषामा लेखिएका छन् । संस्कृत भाषामा सिर्जना गरिएका साहित्यका ग्रन्थलाई गति, यति, लय र सुरताल मिलाएर बाचन गर्ने हो भने सबैभन्दा सुन्दर ध्वनि र स्वरमा सुन्न र बाचन गर्न सकिन्छ ।
त्यसैगरि हाम्रो परम्परालाई मार्गनिर्देश गर्नको लागि सिर्जना भएका वेद, उपनिषद, पुराण लगायत जतिपनि आध्यात्मिक र धार्मिक ग्रन्थहरु छन्, तिनको उल्लेख र विस्तृत व्याख्या गर्न कुनै एक मात्र व्यक्तिको पहूँचभन्दा धेरै टाढाको बिषय भएकाले यस्ता ग्रन्थको व्याख्या बुझ्न धेरै विद्वान र सद्गुरुहरुको व्याख्या अध्ययन गर्न र बुझ्न जरुरी हुन्छ ।
हाल विश्वका धेरै संस्कृति र परम्पराको अध्ययन र विश्लेषण गर्न संस्कृत भाषाबाट सिर्जित ग्रन्थहरु अध्ययन गर्ने क्रम बढ्दो रूपमा देखिन थालेको छ । यो भाषाको प्रयोग अन्तरिक्षमा सञ्चार गर्ने कार्यमा हुनथालेका तथ्यहरु बाहिर आउँन थाल्नु, जर्मनी र अमेरिका जस्तो विकसित देशमा यो भाषाको अध्ययन शुरुभएको तथ्यहरु सार्वजनिक हुन थाल्नु, यो भाषाको लोकप्रियता बढ्नुको प्रमाण हो ।
संस्कृत भाषालाई देव भाषा पनि भन्ने गरिएकोले विश्वका धेरै सम्प्रदायहरु यस भाषा र साहित्यको अध्ययनमा लालायित हुँदै गएका हुन् । कतिपय देशहरुमा यसको अध्ययन गर्न विश्वविद्यालय खुल्नु यसको लोकप्रियताको अर्को उदाहरण हो ।
श्रीमद्भागवत महापुराण यहि भाषा साहित्यको माध्यमद्वारा लिपिबद्ध गरिएको एक प्रमुख ग्रन्थ हो । यस पुराणमा सर्वप्रथम चार श्लोक मात्र थिए । त्यहि भएर यसलाई चतुश्लोकि भागवत भनियो । मानव जातिलाई चतुश्लोकि भागवतको अर्थ र महिमा बुझाउन ज्यादै कठिन भएकोले पछि भगवानको १७ओैँ अवतार मानिएका श्रीकृष्णद्वैपायन वेदब्यासद्वारा अठारहजार श्लोकयुक्त श्रीमद्भागवत महापुराणको रचना भयो । हाल प्रचलनमा रहेको श्रीमद्भागवत महापुराण नै यहि हो ।
श्रीमद्भागवत महापुरामा यति धेरै बिषयहरु समेटिएका छन् कि, यिनिहरुको विस्तृत व्याख्या गर्ने हो भने लगभग छ महिना नै लाग्छ । यहि भएर यसलाई महापुराण भनिएको हो ।
श्रीमद्भागवत महापुराको महत्व कति छ ? भन्ने बिषय बुझ्नलाई निम्न दृष्टान्त प्रस्तुत गर्नु उपयुक्त हुन्छ ।
यो विद्यात् चतुरो वेदान् साङ्गोपनिषदो द्विज: |न चेद् पुराणं संविद्यात् नैव स: स्याद्विचक्षण: ||(विष्णुपुराण)
जसले अंगसहित चारै वेद र उपनिषदहरुको समेत अध्ययन गरेको छ तर पुराण पढेको छैन भने त्यो व्यक्ति विद्वान हुन सक्दैन ।
बहुशास्त्रं समभ्यस्य बहून्वेदान् सविस्तरम् ||पुंसोSश्रुतपुराणस्य न सम्यग्याति दर्शनम् ||पुराणं मानवो धर्म: साङ्गो वेदश्चिकित्सितुम् |आज्ञासिद्धानि चत्वारि न हातव्यानि हेतुभि: ||(पद्मपुराण ४।१०५।१३)
सबै शास्त्रहरुको अभ्यास गरेर, सबै वेदहरु कण्ठगरे पनि पुराण नपढेसम्म वेदको तात्पर्य वुझ्न सकिँदैन । पुराण, मनुप्रणीत धर्म, वेद र वेदका अङ्गहरु परमात्माका आज्ञास्वरुप हुन् । यिनीहरुलाई तर्कको बलमा खण्डन गर्न पाँईंदैन ।
श्रीमद्भागवत महापुराण ज्यादै व्यापक छ । यसको भावलाई एक लेखमा समेट्न असम्भव छ । यसर्थ यस लेखमा यो पुराणमा उल्लेख गरिएको एउटा सानो प्रसंगका तथ्यहरुलाई गणितीय आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ । जुन विश्लेषण अपत्यारिलो पनि लाग्न सक्छ । तर यो बिषय कुनै काल्पनिक नभएर तथ्यमा आधारित बिषय भएकाले उल्लेखित तथ्यहरु विश्वासयोग्य मान्न कर लाग्छ ।
यस लेखवाट के के बिषयमा जानकारी प्राप्त हुन्छ ?
• हालसम्म यो ब्रह्माण्ड १८,२५० पटक प्रलय भइ १८,२५१ पटक सृष्टि भइसक्यो ।
• हरेक युगमा मानव शरीरमा अवतार लिने मान्यता रहेका भगवानहरु शिव, राम, कृष्ण आदिले हालसम्म १,८२,५०,४५८ पटक अवतार लिइसकेका, तर कल्किले भने १,८२,५०,४५७ पटक मात्र अवतार लिएका छन् ।
• ब्रह्माजीको १०० बर्षको कूल आयुमा ७,३०,००,००० चतुर्युगको अवधि व्यतित हुन्छ ।
• हालसम्म ब्रह्माजिले व्यतित गरेको उमेर पद्मकल्पको ५० बर्ष र वाराहकल्पको पहिलो दिन समेत गरि ३,६५,००,४५८ चतुर्युग हो ।
• हालसम्म २,५५,५०७ मनु र त्यतिनै संख्यमा इन्द्रको पनि आयु व्यतित भइसकेको छ ।
• ब्रह्माजीको एक अहोरात्रको २४ घण्टा मध्ये दिनको समय १२ घण्टामा १,००० चतुर्युग र रातको समय १२ घण्टामा १,००० चतुर्युग नै हुन्छन् ।
• दिनको समय १२ घण्टामा १४ मनु र १४ इन्द्र लगायतको आयु व्यतित हुन्छ ।
• एक मनु र एक इन्द्रको आयु ७१.४२८५७१४२८६ चतुर्युग हुन्छ ।
• एक चतुर्युगमा ४३,२०,००० बर्ष हुन्छ ।
• ऐलेको कलियुग २८ओैँ हो ।
• ब्रह्माजिको एक अहोरात्र मध्ये दिनको १२ घण्टाको समय ४.३२ अरब बर्ष सँग सूर्यको कूल आयु ४.६०३ अरब बर्ष लगभग मिलेको छ ।
अब उल्लेखि प्रसङ्गको पुष्ट्याइँलाई हेरौँ :
वैदिक सनातनी हिन्दुहरुले सम्पन्न गर्ने विभिन्न अनुष्ठान र कर्मकाण्डमा सर्वप्रथम सबै बिषयहरुलाई समेट्दै सङ्कल्पको उच्चारण गरिन्छ । त्यस सङ्कल्पमा उच्चारण गरिने धेरै प्रकारका वाक्यहरु मध्ये अष्टाबिंसतितमे कलियुगे कलिप्रथम चरणे भन्ने वाक्य महत्वपूर्ण वाक्य हो । यस वाक्यको अर्थ हुन्छ २८ओैँ कलियुगको पहिलो चरण । यहि अर्थ अनुसार ऐलेको कलियुग २८ओैँ हो र यसको पहिलो चरणमा ५,१२५ बर्ष वितिसकेको छ भन्ने कुरा नेपालमा प्रचलित रहेका पात्रोहरुमा कलिर्गताब्दा भनी उल्लेख भएको समयले पुष्ट्याइँ गर्छ ।
पूर्वीय ज्योतिष परम्परा र श्रीमद्भागवत महापुराणमा समयको गणना गर्दा चार युग र ती युगमा व्यतित हुने समयलाई उल्लेख गर्ने गरिएको छ । जस अनुसार सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग चार युगको नाम हो भने हरेक युगको समय कति बर्ष हुन्छ भन्ने कुरा निम्नानुसार उल्लेख गरिएको छ ।
१. सत्ययुग १७,२८,००० बर्ष२. त्रेतायुग १२,९६,००० बर्ष३. द्वापरयुग ८,६४,००० बर्ष४. कलियुग ४,३२,००० बर्षचार युगको जम्मा अवधि ४३,२०,००० बर्ष ।
ब्रह्माजीको एक अहोरात्र मध्ये दिनको १२ घण्टामा १४ मनु र १४ इन्द्रको आयु व्यतित हुन्छ । यी १४ मनु र इन्द्र मध्ये एक मनु र इन्द्रको आयु ७१.४२८५७१४२८६ चतुर्युग हुन्छ । यस कुराको पुष्ट्याइँ श्रीमद्भागवत महापुराणको निम्न श्लोक र अर्थले गर्छ ।
(यहाँ चौध मनुले भोग गर्ने समय गणना गर्दा एक मनुले भोगगर्ने समय ७१.४२८५७१४२८६ चतुर्युग भएकोले यसलाई १४ ले गुणन गर्दा १००० चतुर्युग नै हुन्छ । जुन समय ब्रहमाजीको एक अहोरात्रमध्ये दिनको बाह्रघण्टाको समय हो ।)
निशावसान आरब्धो लोककल्पोSनुवर्तते |यावद्दिनं भगवतो मनून् भुञ्जंश्चतुर्दश || ३-११-२३
ब्रह्माजीको रात्रि वितेपछि शुरुभएको लोकसृष्टिले चौधवटै मनुहरु (पहिलो स्वायम्भुव - ८-१-१, दोश्रो स्वारोचिष - ८-१-१९, तेश्रो उत्तम - ८-१-२३, चौथो तामस - ८-१-२७, पाचौँ रैवत ८-५-२, छैटौँ चाक्षुष - ८-५-७, सातौँ श्राद्धदेव -८-१३-१, आठौँ सावर्णि - ८-१३-११, नवौँ दक्षसावर्णि - ८-१३-१८, दशौँ ब्रह्मसावर्णि - ८-१३-२१, एघारौँ धर्मसावर्णि - ८-१३-२४, बाह्रौँ रुद्रसावर्णि - ८-१३-२७, तेह्रौँ देवसावर्णि - ८-१३-३०, चौधौँ इन्द्रसावर्णि - ८-१३-३३) को पालो पूरा गर्दै ब्रह्माजीको एकदिन बराबरको समयसम्म रहन्छन् ।
त्यसैगरि मनुको जस्तै ब्रह्माजीको दिनको समय १२ घण्टामा १४ वटै इन्द्रको (पहिलो भगवान स्वयम् ४-१-८, दोश्रो रोचन ८-१-२०, तेश्रो सत्यजीत ८-१-२४, चौथो त्रिशिख ८-१-२८, पाँचौ विभु ८-५-३, छैटौँ मन्त्रद्रुम ८-५-८, सातौँ पुरन्दर ८-१३-४, आठौँ बलि ८-१३-१२, नवौँ अद्भुत ८-१३-२०, दशौँ शम्भु ८-१३-२२, एघारौँ वैधृत ८-१३-२५, बाह्रौँ ऋतधामा ८-१३-२८, तेह्रौँ दिवस्पति ८-१३-३१, चौधौँ शुचि ८-१३-३४) पनि आयु समाप्त हुन्छ ।
ब्रह्माजीले पद्मकल्पमा व्यतित गरेको आयु ५० बर्ष र वाराहकल्पको पहिलो दिनमा वितेको आयुको आधारमा हालसम्म २,५५,५०७ मनु र त्यतिनै संख्यामा इन्द्रको पनि आयु व्यतित भइसकेको छ । किनकि उनको एक दिनमा आयु व्यतित हुने मनु र इन्द्रको संख्या १४ ले उनले हालसम्म विताएको आयुलाई गुणन गर्दा यो संख्या आउँछ । हरेक दिनमा मनु, इन्द्र लगायत सबै देवताहरुको जन्म हुन्छ भन्ने कुरालाई श्रीमद्भागवत महापुराणको निम्न श्लोक र त्यसको अर्थले पुष्ट्याइँ गरेको छ ।
स्वं स्वं कालं मनुर्भुङ्क्ते साधिकां ह्येकसप्ततिम् |मन्वन्तरेषु मनवस्तद्वंश्या ऋषय: सुरा: ||भवन्ति चैव युगपत्सुरेशाश्चानु ये च तान् || ३-११-२४
हरेक मनुले एकहत्तर चतुर्युग र अलिकति बढी (७१.४२८५७१४२८६ चतुर्युग) समयलाई भोग्दछन् । निश्चय नै हरेक मन्वन्तरमा मनुहरु, मनुवंशी राजाहरु, सप्तर्षिहरु, देवताहरु, इन्द्र आदि देवराजहरु र इन्द्रको अधिनमा रहँनेहरु सबै एकसाथ छुट्टाछुट्टै उत्पन्न हुन्छन् ।
ब्रह्माजीको एक अहोरात्रको २४ घण्टा मध्ये रातको समय १२ घण्टामा १,००० चतुर्युग र दिनको समय १२ घण्टामा १,००० चतुर्युग वित्छन् । ब्रह्माजीको कूल आयु १०० बर्ष हुने र यस अबधिमा जम्मा ७,३०,००,००० चतुर्युग वित्छन् । यसलाई श्रीमद्भागवत महापुराणको निम्न श्लोक र त्यसको अर्थले पुष्ट्याइँ गरेको छ ।
त्रिलोक्या युगसाहस्रं बहिराब्रह्मणो दिनम् |तावत्येव निशा तात यन्निमीलति विश्वसृक || ३-११-२२
हे प्यारा विदुरजी ! त्रिलोकीभन्दा बाहिर महर्लोकदेखि ब्रह्मलोकसम्म हजार चतुर्युगका दिन हुन्छन् र त्यति नै समयका रात्रिहरु हुन्छन्, जुन समयमा ब्रह्माजी पनि शयन गर्नुहुन्छ ।
एवंविधैरहोरात्रै: कालगत्योपलक्षितै: |अपक्षितमिवास्यापि परमायुर्वय:शतम् || ८-३-३२
सूक्ष्म कालगतिको तारतम्यले उपलक्षित त्यस्ता अहोरात्रहरुद्वारा ब्रह्माजीको पनि सबैको झैँ सयवर्षको आयु नाश हुन्छ ।
अब ब्रह्माजीले विताएको पद्मकल्प र चलिरहेको वाराहकल्पमा समेत गरि कति मनु र कति इन्द्रको अवधि भोग भयो भन्ने बिषयमा विश्लेषण गरौ ।
ब्रह्माजीको एक अहोरात्रको दिनको समय १२ घण्टामा १४ मनुको आयु पुराहुन्छ भने त्यतिनै संख्यामा इन्द्रको पनि आयु सकिन्छ । यस हिसावले पद्मकल्पमा २,५५,५०० मनु र इन्द्रहरुले आफ्नो आयु भोग गरिसकेको तथ्य प्रमाणित हुन्छ । त्यसैगरि वाराहकल्पको नामले शुरुभएको दोश्रो परार्धको पहिलो दिनमा पनि ६ जना मनु र ६ जना इन्द्रले आफ्नो आयु भोग गरिसकेका छन् र ऐले सातौँ मनु र सातौँ इन्द्रको समयावधि चलिरेको छ ।
यस हिसावले ब्रह्माजीको जन्म भएदेखि हालको अवधिसम्म २,५५,५०७ जना मनु र इन्द्रको उपस्थिति भईसकेको छ । यो संख्या कसरी प्रमाणित हुन्छ भन्ने सम्बन्धमा एकिन गर्न पद्मकल्प र वाराहकल्पमा ब्रह्माजीले बिताएको दिनको संख्या थाहापाउँन जरुरी हुन्छ ।
जसअनुसार पद्मकल्पका ५० बर्षमा व्यतित दिन निकाल्दा यो बर्ष संख्यालाई ३६५ ले गुणन गर्नुपर्ने हुन्छ । यसरी गुणन गर्दा हुने दिन संख्या १८,२५० हो ।
यसलाई एकदिनको अबधिमा आयु व्यतित हुने मनु र इन्द्रको संख्या १४ ले गुणन गर्दा आउने संख्या नै २,५५,५०० हो । यस संख्यामा वाराहकल्पमा उपस्थित ७ मनु र इन्द्रको संख्या जोड्दा २,५५,५०७ हुन्छ ।
ब्रह्माण्डको सृष्टि र सञ्चालन सम्बन्धि कार्य दिनको समयमा मात्र हुन्छ । रातको समयमा ब्रह्माण्डको प्रलय हुने भएकोले सो समयमा कुनै पनि सृष्टि र त्यसको सञ्चालन सम्बन्धि काम हुँदैन । सो समयमा ब्रह्माजी सयनको अवस्थामा हुन्छन् ।
सृष्टि र त्यसको सञ्चालन सम्बन्धि कार्य भएको समयमा मनु, इन्द्र लगायतको मात्र जन्म हुने हैन भगवानको पनि सोही समयमा अवतार हुन्छ ।
यस हिसावले हेर्दा ब्रह्माजीले पद्मकल्पमा दिनको समयमा विताएको चतुर्युगको संख्या र वाराहकल्पको पहिलो दिनमा बितेको चतुर्युगको संख्या बराबर नै सम्वन्धित भगवानहरुको अवतार हुन्छ । त्यही भएर शिव, राम, कृष्ण लगायत सम्बन्धित युगमा अवतार लिएका भनिएका भगवानको पुनरावृत्ति १,८२,५०,४५८ पटक भएको हो ।
अब उपरोक्त सबै तथ्यहरुलाई आधार मानेर अर्को तथ्यको बिश्लेषण गरौँ ।
ब्रह्माण्डको सृष्टि र सञ्चालन सम्बन्धि कार्य दिनको समयमा मात्र हुन्छ । रातको समयमा ब्रह्माण्डको प्रलय हुने भएकोले सो समयमा कुनै पनि सृष्टि र त्यसको सञ्चालन सम्बन्धि काम हुँदैन । सो समयमा सम्पूर्ण सृष्टिलाई आफैमा लीन गरेर ब्रह्माजी चुपचाप रहन्छन् । यहाँ चुपचाप रहन्छन् भन्नुको अर्थ ब्रह्माजी सयनको अवस्थामा हुन्छन् भनेर बुझ्नु पर्छ ।
जब ब्रह्माजी जागा हुन्छन् उनले नयाँ सृष्टि शुरुगर्छन् र जब उनी सुत्छन् आफूले गरेको सृष्टि सबै आफैमा लीन गरेर चुपचाप बस्छन् । यसको अर्थ यो हो कि प्रत्येक दिन बिहान नयाँ सृष्टि हुन्छ र त्यो दिन सकिने वित्तिको ब्रह्माण्डको प्रलय हुन्छ । यसरी हेर्दा ब्रह्माजीले पद्मकल्पमा विताएको ५० बर्षलाई दिनमा परिणत गर्दा ३६५ ले गुणन गर्नुपर्ने हुन्छ ।
यसरी गुणन गर्दा आउने संख्या १८,२५० हो । त्यहि भएर प्रत्येक दिन बिहान सृष्टि भएर बेलुका प्रलय हुने भएकाले यो ब्रह्माण्डको प्रलय पनि १८,२५० पटक नै भएको हो । तर यो ब्रह्माण्डको सृष्टि भने १८२५१ ओैँ हो । किनकि ऐले पद्मकल्प बितेर वाराहकल्पको पहिलो दिन चलिरहेको छ ।
प्रत्येक दिनको शुरुवातमा सृष्टि हुने र दिनको अन्त्यमा प्रलय हुने कुरालाई श्रीमद्भागवत महापुराणको निम्न श्लोक र अर्थले पुष्ट्याइँ गर्दछ ।
निशावसान आरब्धो लोककल्पोSनुवर्तते |यावद्दिनं भगवतो मनून् भुञ्जंश्चतुर्दश || ३-११-२३
ब्रह्माजीको रात्रि वितेपछि शुरुभएको लोकसृष्टिले चौधवटै मनुहरुको पालो पूरा गर्दै ब्रह्माजीको एकदिन बराबरको समयसम्म रहन्छन् ।
एष दैनन्दिन: सर्गो ब्राह्मस्त्रैलोक्यवर्तन: |तिर्यङ्नृपितृदेवानां सम्भवो यत्र कर्मभि: || ३-११-२५
यो मैले वताएको तीन लोकको रचना हुने ब्रह्माजीको दैनिक सृष्टि हो । जहाँ आफ्ना कर्महरुद्वारा पशु, मनुष्य, पितृ र देवताको समेत उत्पत्ति र भोग हुन्छ ।
तमोमात्रामुपादाय प्रतिसंरुद्धविक्रम: |कालेनानुगताशेष आस्ते तूष्णिं दिनात्यये || ३-११-२७
कालक्रमले एकदिन बितेपछि तमोगुणको थोरै मात्रालाई लिएर सारा पुरुषार्थ रोकी सम्पूर्ण जीवहरुलाई आफैँमा लीन गरेर ब्रह्माजी चुपचाप रहनुहुन्छ ।
ऐलेको भौतिक विज्ञानले पत्ता लगाएको सूर्यको आयु ४.६०३ अरब बर्ष हो भने ब्रह्माजीको एक अहोरात्र मध्ये १२ घण्टाको आयु ४.३२ अरब बर्ष हो । भौतिक विज्ञानका अनुसार पनि जब सूर्यको अस्तित्व समाप्त हुन्छ, यो ब्रह्माण्डको पनि अस्तित्व समाप्त हुन्छ ।
त्यसैगरि श्रीमद्भागवत महापुराणमा पनि ब्रह्माजीको दिनको अबधि सकिना साथ ब्रह्माण्डको प्रलय हुन्छ भनिएको छ । यस अर्थमा भौतिक विज्ञान र आध्यात्मिक विज्ञानको निश्कर्ष लगभग एउटै भएकोले भौतिक विज्ञानलाई मान्न करै लाग्छ कि यो ब्रह्माण्ड १८,२५० पटक प्रलय भइसक्यो । भौतिक विज्ञान र अध्यात्मको तुलनाका सम्बन्धमा एउटा भनाइ नै छ, जब विज्ञान टुंगिन्छ, तब अध्यात्म शुरु हुन्छ ।
माथि उल्लेखित तथ्याङ्कहरु चतुर्यगमा मात्र उल्लेख गरिएकोले तिनलाई बर्षमा परिणत गरेर हेरौँ । यसको लागि एक चतुर्युगको जम्मा अबधि ४३,२०,००० बर्षले चतुर्युगको संख्यालाई गुणन गर्नुपर्ने हुन्छ । जस अनुसार :
- एक मनु र एक इन्द्रको आयु - ३०,८५,७१,४२८.५८ बर्ष हुन्छ ।- ब्रह्माजीको एक अहोरात्रको आयु : ८,६४,००,००,००० बर्ष हुन्छ ।- ब्रह्माजीले हालसम्म बिताएको आयु : १५,७६,८१,९५,९०,०२,०९६.४८ बर्ष हुन्छ ।- ब्रह्माजीको कूल आयु : ३१,५३,६०,००,००,००,००० बर्ष हुन्छ ।
उल्लेखित तथ्यलाई आधार मानेर भगवानको आयु गणना गर्ने हो भने भगवानले एक पटक आँखा झिम्क्याउँने समयमा ब्रह्माजीको १०० बर्षको आयु वित्छ । यसर्थ भगवानको आयु अनन्त बर्ष हुन्छ भनी सम्बोधन गर्नु उपयुक्त हुन्छ । यस कुरालाई श्रीमद्भागवत महापुराणको निम्न श्लोक र अर्थले पुष्ट्याइँ गर्दछ ।
कालोSयं द्विपरार्धाख्यो निमेष उपचर्यते |अव्याकृतस्यानन्तस्य ह्यनादेर्जगदात्मन: || ३-११-३७
दुई परार्ध भनिने यो समयलाई अनादि जगदात्माको व्याकृत नहुने तथा अनन्त भगवानको आँखा झिम्केबराबरको समय हो भनिन्छ ।
प्रतिक्रिया