पहिलो चरणमा श्रीलङ्काको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?

आइतबार, ०६ असोज २०८१
काठमाडौँ । श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त नजिता अनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायकले ३०.६ प्रतिशत मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन् । त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २६.६ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १३.५ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । पहिलो प्राथमिकताको मत गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि अब दोस्रो प्रथामिकताको मत गणना हुने भएको छ । डेली मिररका अनुसार श्रीलङ्काको निर्वाचन आयोगले दोस्रो प्रथामिकताको मत गणना गर्न निर्देशन दिएको उल्लेख गरेको छ । पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । श्रीलङ्कामा मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ । सुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ । तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ । सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटामाया राजापाक्षेले देश छोडेपछि श्रीलङ्कामा शनिवार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थिए । शनिवार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । श्रीलङ्कामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार