इटहरी : ‘कीर्तिपुरको डाँडा’ ! नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउनका लागि उल्लेख गरेको शब्द हो । महामन्त्री थापाले २१ औँ शताब्दीको समयलाई जोड दिँदै अबको समय सूचना र प्रविधिमा रोजगारीका साथै आम्दानी समेत गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएका थिए । तर त्यसका कृष्णमान डङ्गोललाई जिताउनुपर्ने थियो ।
उपनिर्वाचनमा कृष्णमानसहित कीर्तिपुर नगरपालिकाका विभिन्न वडामा भएको चुनावमा काँग्रेसका उम्मेदवारले जित हासिल पनि गरे । गगनकै भाषणको अर्थलाई मान्ने हो भने पनि उनीहरूले अब सूचना र प्रविधिको क्षेत्रमा कतिसम्म काम गर्दछन् ? त्यसको नतिजा भने हेर्न बाँकी नै छ । त्यसभन्दा बढी सामाजिक सञ्जालमा गगनप्रति नकारात्मक तथा सकारात्मक टीकाटिप्पणी भइरहेका छन् ।
अर्कोतर्फ सूचना प्रविधिको क्षेत्रमा धेरै कामहरू बाँकी रहेको र गगनको भाषणको अर्थले एउटा सञ्चार पैदा गरेका यस विषयका जानकारहरू बताउँछन् ।
सूचना प्रविधिको क्षेत्रमा के के गर्न सकिन्छ त ? यसका अवसर र चुनौतीहरू के के हुन सक्दछन् ? यिनै समसामयिक प्रश्नको सेरोफेरोमा रहेर सूचना प्रविधि विषयका जानकार मन्दीप भट्टराईसँग प्रदेश खबरका लागि खेमराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
अहिलेको वर्तमान परिपेक्षमा यहाँले सूचना प्रविधिको क्षेत्रमा के कस्ता अवसर देख्नुभएको छ ?
सूचना प्रविधि आफैँमा अवसर भएको क्षेत्र हो । यसमा चुनौतीहरू भए पनि अवसरहरू धेरै छन् । र, नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल चैँ धेरै अवसरहरू ‘एक्सप्लोर’ नभएको क्षेत्र हो । जस्तै हामीले के देख्न सक्छौँ भने हाम्रा तीनै तहका सरकारहरूले सूचना प्रविधिलाई धेरै हदसम्म प्रयोग गर्न सकिरहेको छैन ।
त्यसकारणले गर्दा अनेकन् हाम्रा कार्यालयहरूको वेबसाइट बनाउनेदेखि लिएर तिनीहरूलाई ‘डिजिटिलाइज’ गर्ने काम बाँकी रहेको छ । त्यस्तै निजी क्षेत्रका कार्यालयहरूमा पनि डिजिटिलाइजेसन गर्न बाँकी नै छ । धेरै ग्राहकहरूलाई अझै पनि हामी डिजिटल सेवा दिन नसकिरहे पनि हामी खोजिरहेका छौँ । त्यस कारणले गर्दा नेपालमा चैँ सूचना प्रविधिका क्षेत्रमा धेरै अवसरहरू छन् जस्तो मलाई लाग्छ ।
सूचना प्रविधिको क्षेत्र पछिल्लो समय यो अलि बढी चर्चाको विषय पनि बन्न पुग्यो । जसरी नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावी सभामा गरेको भाषण चर्चा र बहसमा छ । यसलाई चैँ तपाई कसरी हेर्नुहुन्छ ?
गगन थापाले भनेको कुरासँग सत प्रतिशत सहमत हुन सकिन्छ । तर, समस्या चाहिँ के छ भने हाम्रा नेताहरूले भनेको कुरा जनताहरूले पत्याउन छोडेको कारणले गर्दा गगन थापालाई ‘ट्रोल’को विषय पनि बनाइएको छ । हिजो हाम्रा नेताहरूले जे भन्ने गर्दथेँ त्यो अनुसार हुँदैन थियो ।
जस्तो प्रचण्डले अँध्यारो कुनामा बसेर नेपाललाई स्वीजरल्याण्ड बनाउने कुरा, केपी ओलीले रेल र पानीजहाज ल्याउने कुरा पनि त गलत थिएन नि ! गर्न सकिने र चाहिने कुरा नै नेताहरूले भाषणमा मात्र सीमित गरिदिँदा गगनको भाषणमा पनि मानिसहरूले पत्याइरहेको अवस्था छैन । तर, अर्कोतर्फ यसले एउटा बहस चैँ सृजना गरेको अवस्था छ ।
अर्कोतर्फ जमाना ‘आउटसोर्सिङ’को छ नेपालमा बसेर मानिसहरूले अमेरिकामा बसेर काम गरिरहेको अवस्था छ । झन् कोरोनाकलामा त ‘वर्क फम होम’ भन्ने अवधारणा त विश्वव्यापी रूपमै आएको कुरा हो ।
त्यसकारणले नेपालमा बसेर एउटा सुन्दर तलब पाएर काम गर्नु चैँ अविश्वसनीय कुरा हो भन्ने चैँ मलाई लाग्दैन । हाम्रा आ–आफ्ना ज्ञानका सीमाहरू भएकाले पनि कति मान्छेलाई यी कुराहरू थाहा पनि नहुन सक्छ । तर, नेताहरूको भाषण भाषणमै सीमित हुने कारणले गर्दा चैँ यो कुरा बढी ‘ट्रोल’ बनिरहेको छ ।
तपाईँले ‘ट्रोल’ बनाएको कुरा गर्नुभयो । यो पनि त सूचना प्रविधिले नै बनाएको होइन र ?
हो । रमाइलो कुरा चैँ के छ भने, जजसले ‘ट्रोल’ बनाइरहनुभएको छ उहाँहरूलाई पनि थाहा छ कि, यो त प्रविधिकै कारणले भएको हो । जस्तो टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालहरूको प्रयोगबाट पनि पैसा कमाइरहेको देखिन्छ । वेबसाइटहरू, डिजिटल मार्केटिङजस्ता अनेकौँ छन् । जसका कारणले पनि मान्छेले घरमै बसेर धेरै कमाई गरिरहेको उदाहरण हामी देख्न सक्छौँ । त्यस कारणले यो गर्नै नसकिने काम चैँ होइन ।
जस्तो गगन कै भाषणलाई पनि सदुपयोग गर्ने कुराहरू चैँ कसरी सम्भव हुन सक्छ त ?
यो कुरा नेतृत्वमा नै भर पर्ने कुरा हो । जस्तो सूचना प्रविधिको क्षेत्रमा काम गर्नका लागि चुनाव जितेका मानिसहरूको योजना कार्यक्रम के हो भन्ने कुरामै भर पर्दछ । कार्यक्रमको ‘रोडम्याप’ नै भएन भने त यो भाषण र निर्वाचन जितेकाबाट पनि केही हुन सक्दैनन् ।
त्यसका लागि नागरिकलाई यस सम्बन्धीको ज्ञान र प्रयोगका बारेमा कसरी सचेतना दिने ? प्रविधिको क्षेत्रमा सक्षम कसरी बनाउने भन्ने कुराले पनि गगनको भाषणमा पूर्णता पाउने/नपाउने भन्ने हुन्छ ।
यदि, गगन थापासँग या कुनै नेतृत्व वर्गसँग त्यो ‘रोडम्याप’ छ भने त त्यो असम्भव छैन नि ! जस्तो नेपालबाट चन्द्रमामा यान पठाउँछु भन्ने कुरा पनि त असम्भव हैन नि तर, त्यसमा काम चैँ कसरी गर्ने भन्ने ‘रोडम्याप’ त चाहियो नि हैन र !
नेपाल चैँ प्रविधिमा आएको विकाससँगै हिँडिरहेको छ त ?
होइन । सबैलाई एकै ठाउँमा राखेर हेर्न थालियो भने चैँ काम गरिरहेको मान्छेलाई अन्याय हुन्छ । सरकारले पनि काम चैँ गरिरहेको छ । तर, सर्वाङ्गीण विकासका निम्ति यो पर्याप्त काम नभए पनि निजी क्षेत्रबाट नेपालमै बसेर विश्वस्तरिय काम गर्नेहरूको सूची चैँ लामै छ ।
हामीले नीतिगत कुरामा पनि जोड दिनु पर्ला, जसरी प्रविधि दिन प्रतिदिन ‘अपग्रेट’ भइरहेको हुन्छ ।
तर वर्षौँ पुरानो कानुनले कसरी यस क्षेत्रलाई मजबुत बनाउला र ? सूचना प्रविधिको क्षेत्र एकदमै ‘डाइनामिक’ क्षेत्र हो । यो दिनप्रतिदिन ‘अपग्रेट’ हुन्छ । जस्तो तपाईँले आजभन्दा ५ वर्ष अगाडि बोक्नुभएको मोबाइल फोन कै कुरा गर्ने हो भने पनि अहिलेको सँग तुलना गर्न सकिँदैन ।
त्यो अनुसार नीति निर्माण, बजेट निर्माणमा त सरकारले अवश्य पनि ध्यान दिनु पर्दछ नि ! यसलाई व्यवस्थित बनाएर जाने हो भने हामीले जुन अहिले पढेलेखेका मानिसहरू विदेश जाने एउटा लहर पनि छ यसलाई पनि रोक्न सकिन्छ ।
अर्थतन्त्रको सुधार र वृद्धिमा सूचना प्रविधिको भूमिका कस्तो रहन्छ ?
सूचना प्रविधिमा अहिले पनि वार्षिक रूपमा २ खर्ब माथि कारोबार हुने गर्दछ । अहिले कै सन्दर्भमा निर्यात नै १ खर्बको त भइरहेको अवस्था छ । मैले भनेजस्तै क्षेत्रहरूको पहिचान र त्यसमा काम गर्न सकियो भने त यसको दोब्बर तेब्बर वृद्धि त हामीले अहिलेकै अवस्थामा गर्न सक्छौँ ।
त्यसमा पनि यसका प्रत्यक्ष प्रभाव भनेको मानिसको जीवनस्तर सुधार गर्ने, डिजिटल साक्षर बनाउने, रोजगारीका कुराहरूमा त देखिने नै हुन्छ । अर्कोतर्फ सुशासन ल्याउनका लागि पनि यसको भूमिका रहन्छ ।
सूचना प्रविधिले सुशासनका पक्षलाई कसरी जोड दिन्छ ?
सुशासनमा त सूचना प्रविधिले धेरै हदसम्म काम गर्दछ नि । जस्तैः अहिले पनि ठेक्का सम्झौतामा ‘इ–विडिङ’ छ । यसले गर्दा नेपालभरिबाट आवेदन दिन सक्छन् र त्यो पारदर्शी हुन पुग्छ ।
निश्चितलाई छान्ने भन्ने कुरा पहिलेको जस्तो प्रणालीबाट धरै अनियमितताका कुरा रोकिने हुन्छ । सानो काममा पनि लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । जनताले पनि स–साना झमेलाबाट मुक्ति मिलोस् भन्ने चाहाना सरकारबाट गरिरहेको परिपेक्षमा त यसले सर्वाङगिण क्षेत्रमा टेवा पूर्याउँछ ।
कतिपयको बुझाइमा चैँ सूचना प्रविधि भन्ने बित्तिकै फेसबुक र टिकटक मात्र हो भन्ने जस्तो पनि छ नि ?
हो फेसबुक, टिकटक, युट्युब लगायतका जति पनि सामाजिक सञ्जालका ‘प्लेटफर्म’हरू छन् यिनीहरू चैँ एकदमै सानो इकाई मात्र हो ।
यसभन्दा बाहेक सफ्टवेयरको विकास, हार्डवेयर, वेबसाइट निर्माण, नेटर्वकिङ, डिजिटल सीपको विकास, पूर्वाधारको विकास, यातायातको क्षेत्र, रोवटिक्सको कुराहरू छ । जति पनि क्षेत्रहरूमा प्रविधिको प्रयोगमार्फत बढीभन्दा बढी सेवा दिन सकिन्छ र यसबाट आम्दानी पनि गर्न सकिन्छ ।
यसको दुरुपयोग पनि त व्यापकै भएको छ नि ?
हो, अहिले त हाम्रो साइबर अपराध नै बढ्दै गएको छ । ‘फेक अकाउन्ट’ बनाउने, गाली, बेइजतीका कुराहरू पनि अनलाइनका माध्यमबाट बढ्दै गएको छ । यसलाई त हामीले रोकथाम गर्नेपर्ने हुन्छ । नत्र प्रविधिको विकासको बाधक पनि प्रविधि नै बन्न पुग्छ ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया