इटहरी : शुक्रबार (मंसिर २८)मा हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनहरू गठबन्धन नै गरेर चुनावी मैदानमा छन् ।
सत्ता गठबन्धन निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीचको गठबन्धनअनुसार केन्द्रदेखि प्रदेश र जिल्लासम्मका पत्रकारहरू चुनावी मैदानमा छन् ।
खासगरी केन्द्रमा प्रेस चौतारीको भागमा परेको केन्द्रीय अध्यक्षको पदमा युनियनका रमेश विष्टले बागी उम्मेदवारी प्रस्तुत गरेका छन् ।
आफ्नो सङ्गठनको गठबन्धनकाविरुद्ध प्रेस सेन्टरसँगको सहकार्यमा विष्टको टिम पनि चुनावी मैदानमा होमिएको छ । यही मङ्सिर २८ गते शुक्रबार हुने निर्वाचनमा भएको मत परिणाम त केही दिनमा सार्वजनिक हुन्छ । तर सङ्गठनको गठबन्धनविरुद्धमा अधिकांश पत्रकारहरू उभिएका छन् ।
तेह्रथुमबाट पत्रकारिता गर्ने प्रेस युनियनकै नेता अमृत बास्तोलाले पनि गठबन्धनको निर्णयका विरुद्धमा कोशी प्रदेश पत्रकार महासंघको महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
उनलाई माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टरसहितको गठबन्धनले समर्थन जनाएको छ । बास्तोला पनि श्रमजीवी पत्रकार विरुद्धको गठबन्धनलाई आफ्नो संगठनले अङ्गीकार गरेकाले आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दछन् ।
नेपाल पत्रकार महासंघको सुनसरी अध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेस युनियनका नेता गणेश निरौला भन्छन्, ‘हामी एक्लै चुनाव जित्ने अवस्थामा हुँदा पनि प्रेस चौतारीलाई अध्यक्ष दिएपछि मैले विद्रोह गरेको हुँ ।’
सङ्गठनको हितको निम्ति सक्रिय हुँदा पनि युनियनकर्मीलाई न्याय दिनका लागि आफू कारबाही भोग्न समेत तयार रहेको उनी बताउँछन् ।
प्रेस चौतारीका नेता लीलाराज भट्टराई नेपाल पत्रकार महासंघ भएर नै सुरक्षित छु भन्ने प्रत्याभूत गराउनका लागि समूहको निर्माण भएकाले पत्रकारिता क्षेत्रको विश्वास र पत्रकार महासंघको गरिमा बढाउन अपिल गर्छन् ।
दुई ठूला संगठन प्रेस चौतारी र प्रेस युनियनले देशव्यापी रूपमा गठबन्धन गरेर चुनावी अभियानमा होमिँदा प्रेस सेन्टरसहितका सङ्गठनहरू गठबन्धनसँग असन्तुष्टसँगको सहकार्यमा अभियान चलाइरहेका छन् ।
सेन्टरको तर्फबाट कोशी प्रदेशमा अध्यक्षको उम्मेदवारी दिएका विवेक गौतमले अरूलाई सिद्ध्याउनका लागि गठबन्धन निर्माण भएका भन्दै आफूहरूको उम्मेदवारी श्रमजीवीहरूको पक्षमा रहेको बताए । मत हाल्नका लागि कसैको उर्दी आवश्यक नभएको उल्लेख गर्दै श्रमजीवीको पक्षमा मतदाताले मतदान गर्नेमा गौतम ढुक्क छन् ।
‘क्लिन स्विप’मा बागीको चिन्ता, कारबाहीको डन्डा !
पत्रकार महासंघको निर्वाचनमा पहिलो र दोस्रो ठूलो संगठनको मिलनले धेरै ठाउँमा नतिजा आफ्नो पक्षमा पर्ने संगठनको नेताहरूको विश्वास छ । साङ्गठनिक रूपमा हेर्दा गठबन्धन गरेका दुई संगठनको मत जोड्दा अरूको भन्दा दोब्बर बढी नै रहेको अवस्था छ ।
निर्वाचन जित्नका लागि आवश्यक रणनीति आवश्यक भएको भन्दै नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मीन कुमार नवोदित भन्छन्, ‘हाम्रा बागी उम्मेदवारहरूलाई हामी मिलाउने कसरतमा भएकाले निर्विरोधबाहेक निर्वाचन हुने पदहरूमा हामी क्लिन स्विपको पक्षमा छौँ । नमिल्ने उम्मेदवारलाई हामी कारबाहीको दायरामा त ल्याउँछौं नि !’
तर, नवोदितको यो भनाइलाई भने बागी तथा स्वतन्त्र उम्मेदवारहरूले उस्तै चुनौती दिइरहेको अवस्था छ । हुन त संगठनको निर्णयविपरीत उम्मेदवारी दिने उम्मेदवाहरुलाई संगठनले कारबाही गरिरहेको अवस्था छ । त्यसमा बागी उम्मेदवारी दिनेमा युनियनका नेताहरू धेरै छन् ।
प्रेस युनियनको केन्द्रीय अनुशासन आयोगले अहिलेसम्म १३ जनालाई कारबाही गरिसकेको अवस्था छ भने चौतारीले दुई जनालाई कारबाही गरेको अवस्था छ । तर संगठनको निर्णयविपरीत जाने जो कोहीले कारबाही भोग्ने नेताहरूको चेतावनी छ । अर्कोतर्फ कारबाहीको बाबजुत गठबन्धनप्रति असन्तुष्ट भोटहरू गठबन्धनबाहिर जाने निश्चित प्रायः छ ।
युनियनकर्मी कुमार लुइँटेल सामाजिक सञ्जालमा लेख्छन् ‘कोसीपारीको एउटा टपर्टुच्चयाँ बाहुन र अर्को पश्मिमबाट आई विराटनगरमा शरणगत कुमाउ ब्राम्हणले महासचिवमा रोकेको भन्ने कुरा आयो । तिमीहरूको महासचिव मकैको खोस्टो । कलमजीवीलाई रोक्ने ताकत भए पो...! भोट पनि आफैं दिने होला नि त ?’ उनको यो स्ट्याटसमा पनि असन्तुष्टको स्वर व्यापक रूपमा गुज्जिएको देख्न सकिन्छ ।
अर्कोतर्फ पत्रकारिता क्षेत्रका जानकारहरू पनि संगठनको निर्देशनबाहिरका उम्मेदवारलाई सहानुभूति दिइरहेका छन् ।
प्राध्यापक भानुभक्त आचार्य भन्छन्, ‘प्यानल र ह्विपको प्रतिरोध गर्ने साथीहरूलाई बधाई छ । प्रत्यक्ष र गोप्य निर्वाचन भनेको कुनै माइकलालको उर्दी मान्नु पर्ने बाध्यता होइन । पत्रकार हुन कुनै संगठन चाहिँदैन । सङ्गठनले पत्रकार हुन नदिने रहेछ । आफ्नो प्यानल आफैं निर्धारण गरौँ ।’
महासंघको शुक्रवार हुने निर्वाचनका लागि सबै जिल्लाहरूमा तयारी अन्तिम चरणमा रहेको छ । निर्वाचनमा महासंघको सदस्यता भएका मतदाताले आफ्नो जिल्लाबाट जिल्लाको कार्यसमितिसहित केन्द्रीय पार्षद् र प्रदेश पार्षद् छनौट गर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा भने पार्षद्हरू निर्विरोध भइसकेका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया