इटहरी : कोशी प्रदेशको क्षेत्राधिकारभित्र रहेको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था एक वर्षपछि बल्ल सङ्कटग्रस्त घोषित भएको छ ।
प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यो सहकारीलाई मङ्गलवार मात्रै ‘समस्याग्रस्त’ सहकारी घोषणा गरेको हो ।
अम्बेका बचतकर्ताहरूले बचत गरेको रकम पटक–पटक माग्दासमेत फिर्ता माग्दा नदिएको भन्दै २०८० असोज ७ गतेबाट नै सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।
बचतकर्ताहरूले सङ्घर्ष समिति र व्यक्तिगत रूपमै कोशी प्रदेश सहकारी रजिस्टारको कार्यालय, मुख्यमन्त्री कार्यालय र स्थानीय सरकारका साथै प्रशासनकोसमेत ध्यानाकर्षणमा सङ्कटग्रस्त घोषणा गरेर आफूहरूको रकम फिर्ता हुनुपर्ने भन्दै आन्दोलनरत थिए ।
त्यसबेला प्रदेश सरकारले सङ्कटग्रस्त घोषणा गर्न मानेको थिएन । सङ्कटग्रस्त सहकारी घोषणा गर्दा समग्र सहकारीप्रति नै नकारात्मक भाष्य सिर्जना हुने भएकाले माग सम्बोधन र समस्या समाधान गर्ने प्रतिबद्धता कोशी सरकारको थियो ।
तर, त्यसको समाधान निस्कन नसकेपछि यही पुस १८ गते प्रदेश सरकार आफैँले सङ्कटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो । समितिले काम थाल्नुअघि नै सरकारले अम्बे कोशी सहकारीलाई सङ्घर्ष समिति गठन भएको एक वर्ष तीन महिनापछि समस्याग्रस्त घोषणा गरेको हो ।
प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले भने, ‘पहिलो चरणमा हामीले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरेका हौँ । समस्यामा रहेका अन्य सहकारीहरूलाई पनि क्रमशः घोषणा गरेर समस्या समाधानको पहल गर्छौँ । जसको अध्ययन प्रदेश सहकारी रजिस्टारको कार्यालयले गरिरहेको छ ।’
समितिले कसरी गर्छ काम ? अधिकांश फरार !
पुस १८ मा गठित सङ्कटग्रस्त सहकारीको व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेले सङ्कटग्रस्त घोषित भएका सहकारीको व्यवस्थापनमा समितिले काम गर्ने बताए ।
‘यो समिति सहकारीको सञ्चालक समितिकै अधिकार प्राप्त समिति भएकाले सङ्कटग्रस्त घोषित सहकारीका सवालमा सबै डकुमेन्टसहरू हरेर काम गर्ने हुन्छ ।’
यता अदालती प्रक्रिया अन्तरगत अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर अहिले पनि कारागारमा रहेका छन् । यो सहकारीको रकम अपचलनमा जिल्ला अदालत सुनसरीमा प्रतिवादी बनाइएका २८ जनामध्ये ९ जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रदेश सहकारी रजिस्टार हरिबहादुर खत्रीले अदालती प्रक्रिया छुट्टै भएकाले पीडित भएकालाई बचत फिर्ता गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘बन्द रहेको सहकारीको व्यवस्थापन समितिले नै गर्ने भएकाले अब ऋण असुली बचत लगायतका कुरा समितिले नै हेरेर काम गर्ने छ,’ उनले भने, ‘समितिले क्रमशः बचत रकम फिर्ता गर्ने कुरामा आशावादी हौँ ।’
यो पनि - इटहरीको अम्बे सहकारीका ५६ प्रतिवादीमध्ये ३३ जना अहिले पनि फरार सूचीमायो पनि – नियमसंगत नचल्दा सङ्कटग्रस्त इटहरीका सहकारी, बचतकर्ताको करोडौँ रकम जोखिममायो पनि – अम्बे कोशी सहकारीका बचतकर्ता द्वारा प्रदर्शन,बचत फिर्ता नदिएको भन्दै रजिष्टार कार्यालयको ध्यानाकर्षणयो पनि – अम्बेकोशी सहकारी ठगीको अनुसन्धानमा चरम लापरबाही, सक्कल मिसिल पुन अनुसन्धानका लागि प्रहरीलाई फिर्तायो पनि – अम्बे-कोशी सहकारीमा बचतकर्ताले लगाए ताला, कारवाही गर्नुपर्ने अध्ययनको निष्कर्षयो पनि - अम्बे सहकारी इटहरीका अध्यक्ष फणीन्द्र मगर सहित चार सञ्चालक पक्राउयो पनि - अम्बे -कोसी सहकारी ठगी प्रकरण : राज्य संयन्त्रै लागेर मुद्दा कमजोर बनाउन खोजिएको आशङ्का, आज अदालतमा बुझाइँदै
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया