इटहरी । सुनसरीको इटहरीमा रहेको अम्बेकोशी बचत तथा श्रृण सहकारी संस्था ठगी प्रकरणमा फितलो अनुसन्धान भएको पाइएको छ ।
प्रहरीले अनुसन्धानै नसकी फाइल बुझाएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले फाइलको सक्कल मिसिल नै प्रहरीलाई फिर्ता गरिदिएको छ । अनुसन्धानमा भएको कमजोरीका कारण छिटो न्याय कुरिरहेको सहकारी पीडित भने थप निराश बन्न पुगेका छन् ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुनसरीमा अनुसन्धानको फाइल मङ्गलवार पेस गर्ने तयारी थियो । तर, अनुसन्धान नसकी प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको भन्दै प्रहरीलाई थप अनुसन्धान गर्नका लागि भन्दै सक्कल मिसिलै फिर्ता पठाएपछि अनुसन्धान लम्बिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक गजेन्द्र राय सहितको अनुसन्धान टोलीले २२ दिन लगाएर अम्बे कोशीका बारेमा अनुसन्धान गरेर वकिल कार्यालयमा मिसिल पठाएको थियो ।
तर सरकारी वकिल कार्यालयले अनुसन्धान अपुग भएको भन्दै प्रहरीमै सक्कल मिसिल सहितनै फाइल फिर्ता पठाएको जनाइएको छ । वकिल कार्यालयबाट फाइल फिर्ता आएपछि प्रहरीले नयाँ शिराबाट पुन अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीले यसअघि सहकारी ठगी सम्बन्धी मुद्दा चलाएपछि पीडितहरूले सहकारी संञ्चालकहरुलाई बचाउन लागेको भन्दै आन्दोलन गर्ने सम्मको चेतावनी दिँदै पत्रकार सम्मेलन गरेका थिए ।
पीडितहरूले पक्राउ परेका सञ्चालकहरूका विरुद्धमा सांगठानिक अपराधमा मुद्दा चलाएर समस्याग्रस्त व्यवस्थापन समिति घोषणा गर्न माग गरेका थिए । १० दिनको म्याद थपेर मुद्रालाई प्रहरीले सांगठानिक अपराध अन्तर्गत चलाउने तयारी गरेर अघि बढेको प्रहरी स्रोत जनाएको छ ।
प्रहरीले म्याद थप गरे सँगै सहकारीका पूर्व सञ्चालकहरूलाई प्रहरीमा बोलाएर अनुशनधान सुरु गरेको छ । पूर्व सञ्चालकहरू टिकाराम बास्कोटा,दुर्गा धिताल,गीता ढकाललाई पनि कार्यालयमा बोलाएर प्रहरीले २ दिन लगाएर बयान लिएको छ ।
यस्तै पूर्व लेखा समिति सदस्यहरू ओम श्रेष्ठ र निर्मल फुयाललाइ पनि प्रहरीले बयान लिएको छ ।
यस्तै संचालक राजकुमार तामाङको भने रजिस्ट्रार कार्यलयले गरेको अनुशन्धानमा ठगी गरेको देखाएपनी प्रहरीले गरेको अनुशन्धानमा भने कुनै पनि रकम चलाएको देखिएको छैन । उनी अहिले सम्पर्क बाहिर रहेका छ्न ।
पूर्व लेखा समिति संयोजक रहेका बद्री रेग्मीलाई भने सम्पर्क बाहिर भएका कारण प्रहरीले अहिले सम्म बोलाएको छैन । पूर्व सञ्चालक समिति सदस्य रहे पनि गीता ढकाल स्वयम पीडित समेत हुन ।
उनले सञ्चालक समिति सदस्य रहेका समयमा २०७४ सालमा जग्गा बिक्री बापत आएको १ करोड ६६ लाख रुपैयाँ पैसा सहकारीमा मुद्धतिमा जम्मा गरेको बताएकी छिन ।
आफै सञ्चालक समिति सदस्य भएको बेला बैङ्कमा मुद्धतिमा १२ प्रतिशत ब्याज हुँदा यहाँ १४ प्रतिशत थियो ।
सञ्चालक समितिका साथीहरूले भन्नुभयो र अम्बेमै मुद्धतिमा राखेको बताएकी छिन । प्रहरीमा हाल सम्म २७ करोड ५ लाख ठगिएको भन्दै सञ्चालकहरू विरुद्ध किटानी जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सहकारी ठगीका बारेमा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट उजुरी परेपछि प्रहरीले ५ जनालाई पक्राउ ग¥यो । प्रहरीले सहकारीका अध्यक्ष फणीन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको थियो ।
इटहरी ४ का देवेन्द्र बस्नेत, इटहरी ६ का सागर राई, इटहरी ४ कै टेकबहादुर चर्मकार, ओखलढुङ्गा घर भएका भोजकुमार पुलामी मगर र इटहरी ४ कै मीनकुमार मगर भने अहिलेसम्म फरार रहेका छन् । उनीहरू सबै विरुद्ध जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपनि अहिले सम्म फरार रहेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सहकारीमा ४७ करोड बचत अपचलन भएको देखिएको छ ।
Discussion about this post