इलामको चुलाचुलीमा सोमबारबाट दुईदिने नाट्य महोत्सव

आइतबार, १३ माघ २०८१
इलाम : चुलाचुलीमा सोमबारबाट दुईदिने नाट्य महोत्सव सञ्चालन हुने भएको छ । यो नाट्य महोत्सवको तेस्रो संस्करण हो । माघ १४ र १५ गते चुलाचुली गाउँपालिका ३ मा नाट्य महोत्सव आयोजना गर्न लागिएको हो । स्कुलका विद्यार्थीलाई लक्षित गरी चुलाचुली पाठशाला नाट्य महोत्सव आयोजना गर्न लागेको रंगमञ्च संयोजक चेतन आङ्थुपोले जानकारी दिए । उनका अनुसार आसपासमा जंगलैजंगल रहेको खेतको गरामा आयोजना गरिने यो महोत्सवलाई ‘पर्यावरणीय नाटक महोत्सव’ नाम दिइएको छ । महोत्सवमा आठवटा नाटक, दुई ओपन पर्फमेन्स, दुुई प्यानल डिस्कसन, पाँच दिने नाट्य कार्यशाला र चित्रकला कार्यशाला आयोजना गरिनेछन् । नाट्य महोत्सवको प्रकाशित तालिकाअनुसार पहिलो दिन बिहान ७ बजेदेखि १० बजेसम्म नाट्य कार्यशाला हुनेछ। १० बजे कार्यक्रम उद्घाटन, ११ बजे नाटक ‘भूमरी’ प्रस्तुत हुनेछ। चुलाचुली रंगमञ्चद्धारा प्रस्तुत हुने उक्त नाटक प्रवीण भण्डारीले निर्देशन गरेका छन्। १२ बजे अर्को नाटक ‘उ जुनेली’ प्रस्तुत हुनेछ। सुविजिमुर मेमोरियल मावि सुन्दरहरैँचा, मोरङले प्रस्तुत गर्ने उक्त नाटक मौसम कार्कीले निर्देशन गरेका छन्। दिउँसो १ बजे नाटक ‘खुला चुनौती’ प्रस्तुत हुनेछ भने उक्त नाटक चेतना नाट्य समूह इलामले प्रस्तुत गर्ने तयारी छ। दिउँसो २ बजे नाटक ‘डार्क स्याडो’ प्रस्तुत हुनेछ। कला क्रान्ति नाट्य समूह हेटौँडाले प्रस्तुत गर्ने उक्त नाटकका निर्देशक भावेश बानियाँ छन्। दिउँसो ३ बजे नाटक ‘मडी लुगा’ प्रस्तुत हुनेछ। उक्त नाटक पञ्चबुद्ध एकेडेमी चुलाचुली ४, इलामले प्रस्तुत गर्न लागेको हो भने रिचल राई निर्देशक छन्। दिउँसो ४ बजे प्यानल डिस्कसन गरिने तयारी रहेको आङ्थुपोले बताए। दोस्रो दिन बिहान ७ देखि १० बजेसम्म नाट्य कार्यशाला हुनेछ। बिहान १० बजे खुला प्रस्तुति’(चारसिल नृत्य) प्रस्तुत हुनेछ। उक्त नृत्य नेपाल कुलुङ भाषा संस्कृति उत्थान चुलाचुलीले प्रस्तुत गर्नेछ। बिहान ११ बजे नाटक ‘द ल्यान्ड अफ मङ्की’ प्रस्तुत हुनेछ। अमृत बोर्डिङ स्कुल चुलाचुली २ ले प्रस्तुत गर्ने नाटकको निर्देशक खेमराज धमला छन्। दिउँसो १२ बजे बालज्योति मावि चुलाचुली ४ ले नाटक ‘द रुट’ प्रस्तुत गर्नेछ। उक्त नाटकको जेम्स लिम्बूले निर्देशन गरेका हुन्। आयोजकका अनुसार दिउँसो १ बजे रिलायन्स अंग्रेजी मावि मिक्लाजुङ ७, मोरङले नाटक ‘मौनताको कथा’ प्रस्तुत गर्नेछ । उक्त नाटक अनुप बिकले निर्देशन गरेका हुन्। अन्तिम नाटक दिउँसो २ बजे ‘वातावरण’ प्रस्तुत हुनेछ। जनता मावि चुलाचुली २ ले प्रस्तुत गर्ने उक्त नाटक दिप्सन विकले निर्देशन गरेका हुन्। सोही दिन दिउँसो ३ बजे प्यानल डिस्कसन र ४ बजे समापन कार्यक्रम गरिने जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार