विराटनगर । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीनवटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ ।
मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले आयोजना गरेको पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा साहित्य पुरस्कारहरु स्थापनाको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष, कवि एवं समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष पुरस्कार समर्पण गरिने छ ।
मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कार, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार तथा नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवं साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको घोषणा गरिएको छ । पुरस्कार राशिमध्ये नन्दलाल ११ हजार १ सय ११, माधव–नर्वदा ११ हजार १ सय ११ र नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार १५ हजार रूपैयाँ बराबरको छ ।
कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा प्रकाश पारेका थिए । उनले समाज विकासमा साहित्यको महत्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताए ।
त्यस्तै, संस्थापक परिवारकी सदस्य एवं कवि नानुमैया दाहालले समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार साहित्य भएको बताइन् । नेपाली समाजलाई सकारात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले पुरस्कारहरूको स्थापना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने बताए । उनले संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गरे । कार्यक्रमकी विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा।डा। हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं लगायतले दाताहरूप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
कार्यक्रमको अवसरमा अक्षयकोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेललगायतलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा भूषण ढुंगेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेल, नवशीलाझ लगायतका मुक्तककारहरूले आ–आफ्ना मुक्तकहरू वाचन गरेका थिए । आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया