इलाम : राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी स्व. अमरकुमार नेम्वाङको नाममा स्थापित संस्था “अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठान'' ले २०८१ को साहित्य सम्मान पुरस्कार,साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
सम्मानित स्रष्टामा छनौट गरिएको र छात्रवृत्ति वितरण तर्फ श्री जनकल्याण मावि फाकतेप फाल्गुनन्द ५ का कक्षा ११ मा अध्ययनरत विद्यार्थी अञ्जना चेम्जोङलाई छनौट गरिएको अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानका अध्यक्ष मुनीन्द्र नेम्बाङले बताए ।
अमर नेम्बाङ लिम्बुको छैटौँ स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको उक्त सम्मान पुरस्कार अन्य कार्यक्रमहरू सँगै यही माघ २६ गते, शनिवार फिदिम १ स्थित होटल मनश्वी, बुद्ध मार्गमा आयोजना हुने आयोजकले जानकारी दिएको छ।
अमर नेम्बाङको छैटौँ स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै बम विस्फोट र बाढी पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम पनि आयोजना हुनेछन् ।
अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’मा यस लेखनको उत्कृष्ट प्रयोग पाइन्छ ।
प्रतिक्रिया