‘अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान’बाट धरावासी र स्वप्निल पुरस्कृत

शनिबार, २६ माघ २०८१
पाँचथर : यो वर्षको ‘अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार’ साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई अर्पण गरिएको छ । लेखक,साहित्यकार तथा फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्बाङको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार शनिवार फिदिममा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई अर्पण गरिएको हो । नेम्वाङको निधनपश्चात उनका परिवारका सदस्यहरूले स्थापना गरेको ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले छैठौं स्मृति दिवसका अवसरमा एक समारोहको आयोजना गर्दै सम्मान र पुरस्कार अर्पण गरिएको हो । दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्वेले समान ५० हजार रुपैंया नगदसहित दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए । प्रतिष्ठानले सोही कार्यक्रममा विपद्मा परेका नागरिकलाई राहत वितरण गर्दै आएको हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थालाई प्रोत्साहन स्वरूप नगद ५० हजार रुपैंया उपलब्ध गराएको छ । गत असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा ज्यान गुमाएका फिदिम नगरपालिकाका ९,फाल्गुनन्द गाउँपालिकाका २ र फालेलुङ गाउ‘पालिका ४ गरी १५ जना नागरिकको परिवारका सदस्यलाई जनही १० हजार प्रदान गरियो । यसैगरी भदौ १३ गते फालेलुङ ५ प्राङवुङमा बम विष्फोटमा ज्यान गुमाएका दिप्सन र प्रिन्सा साँवाका अविभावकलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ । यसैगरी फाल्गुनन्द ५ स्थित जनकल्याण मावि फाक्तेप कक्षा ११ मा अध्ययनरत अञ्जना चेम्जोङलाई १५ हजार रुपैयाँ राशीको जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । पुरस्कार ग्रहण गरेपश्चात दुवै स्रष्टाहरूले सम्मानबाट आफूहरूलाई नेपाली साहित्यको विकास र लेखन मार्फत समाज परिवर्तनका लागि जिम्वेवारी बढाएको बताए । लेखक, कवि तथा राजनैतिक व्यक्तित्व अमर नेम्वाङको २०७६ साल माघ २६ गते फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा आयोजित कार्यक्रममा सम्बोधन गरिसकेलगत्तै निधन भएको थियो । उनको निधन भएकै दिनलाई प्रतिष्ठानले स्मृति दिवस आयोजना गर्दै स्रष्टा सम्मान, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति र प्राकृतिक विपद्मा परेका नागरिकका आफन्त र परिवारका सदस्यलाई राहत वितरण गर्दै आएको छ । अमर नेम्वाङ साहित्य सम्मानबाट यसअघि श्रवण मुकारुङ, प्रेम ओझा, शारदा सुब्बा, बिना थिङ, डा.गोविन्दराज भट्टराई, वीर नेम्वाङ, देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार