विराटनगर : कोशी प्रदेशका उदयपुर, भोजपुर र सुनसरी जिल्लामा बिहीबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तीनवटै दुर्घटना ट्याक्टरको कारण भएको हो ।
प्रहरीका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–८ सरस्वती पुलमा राति ९ः३० बजेतिर ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।
गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको बा ६४ प ५१७ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखिएको प्रदेश २–०१–००१ त २३०१ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक त्रियुगा–७ भन्टाबारीका अन्दाजी ३४ वर्षीय भुवन राईको मृत्यु भएको । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।
ट्याक्टर र चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–६ का अन्दाजी २८ वर्षीय कूलबहादुर मगरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, भोजपुरको आमचोक गाउँपालिका–६ स्थित घोडेटार–बालंखा कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्णेबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर रामप्रसाद राई गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय निशान राईको मृत्यु भएको हो ।
ट्याक्टरमा सवार रहेका राई दिउँसो ४ः४५ बजेतिर खसेको र त्यसलगत्तै ट्याक्टरको पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर चालक संखुवासभाको चैनपुर नगरपालिका–७ का २५ वर्षीय ओङ्दी शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ट्याक्टर चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इनरुवाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्याक्टरले दिउँसो १ बजेतिर पैदलयात्री हरिनगर–४ का ३५ वर्षीय उमेश महतोलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका महतोलाई उपचारका लागि इनरुवा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सप्तरीको कन्चनरूप नगरपालिका–४ का अन्दाजी ३४ वर्षीय रूपेश सरदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
चालकको लापरबाही एवं ट्राफिक नियमको उल्लंघनका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया