सोलुखुम्बुमा हावाहुरीको वितण्डा

सोमबार, ०४ चैत्र २०८१
सोलुखुम्बु :“खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन, हावाले घरहरू त परको कुरा रुखहरू नै जराबाटै पल्टिन थाल्यो १ डाँडाहरू हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्य मिश्रित भावमा भन्नुभयो । विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरूमा ठुलो क्षति पुगेको छ । दुई महिनामा २६ घटना जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजी घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ । जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पु¥याएको प्रहरीले जनाएको छ । “अघिल्ला वर्षहरूमा यस वर्षको जस्तो ठुलो हावाहुरीले क्षति पु¥याएको देखिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठुलो मात्रामा क्षति पु¥याउन थालेको छ”, प्रनाउ घिमिरेले भन्नुभयो । हावाहुरीका कारण कतिपय स्थानमा रुखहरू जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाई टेन्सन लाइनमा क्षति पुग्दा बारम्बार विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । लाइन विस्तार भएका क्षेत्रमा रुखहरू ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो । हावाका कारण बाहिर हिँडडुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ । घरका छानोहरू उडाउने तथा बाटो आसपासका रुखहरू ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङले बताउनुभयो । जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ । तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार