रौतहट : रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका तीन सय ४० थान मोबाइल सेट बरामद गरिएको छ ।
विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट बाच समेत बरामद गरेको जनाएको छ । परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई परीक्षा अवधि भरका लागि निष्कासित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले बताए ।
उनका अनुसार बरामद गरी नियन्त्रणमा लिइएका मोबाइल सेट र स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट मोबाइल, स्मार्ट बाच र गार्डलाई निष्काशान गरेको खुलाएको छैन ।
पहिलो र दोस्रो दिनगरि ७ सय ६४ थान मोबाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत शुक्रवार अनिवार्य नेपाली विषयको परीक्षा भएको हो ।
यस वर्षको एसइई परीक्षामा यहाँ ४० वटा परीक्षा केन्द्रमा १० हजार ४ सय ८४ जना परीक्षार्थीहरू परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ ।
प्रतिक्रिया