काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनको ढोका खुल्ने बताएका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले कीर्तिपुरमा आयोजना गरेको उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले अहिले विद्यालय शिक्षालगायत दर्जनौँ विधेयक संसदमा थन्किएर बसेका र उच्च शिक्षा विधेयक त झन् बेवारिस नै भएको बताएका हुन् ।
‘गरिब देशको जम्बो संसद् कानुन निर्माणका सवालमा अकर्मण्य भएको र भत्ता खानमा मात्र सीमित देखिएको छ । विश्व विद्यालय शिक्षालाई व्यवस्थित र थप गुणस्तरीय बनाउन उच्च शिक्षा ऐन यथाशक्य छिटो ल्याउनु पर्दछ,’ महरले भने ।
शिक्षाभित्र नयाँ प्रविधि प्रवेशबाट अहिलेका युवा झनै स्वतन्त्र भएर आफैँ नेतृत्व लिन तयार भएका कारण हरेक कुरामा न्यूनर्मल खोजी रहेकाले उनीहरूले व्यक्तिको शासन नबोक्ने महरको दाबी छ ।
पूर्व राजाका पक्षमा प्रायोजित रूपले केही मानिसले होहल्ला गरेर चियाको कफमा तुफान ल्याउन खोजे पनि फरक नपर्ने तर राजनीति पनि उत्तिकै सङ्लो हुन हुन आवश्यक रहेको उनको तर्क छ । ‘यो स्वतन्त्रताको युग हो । अहिलेका युवा म नेतृत्व गर्न सक्छु भनेर तयार भइरहेका छन् । व्यक्तिको शासनलाई कसैले बोक्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
नेता महरले अहिले युवाले प्रत्येक कुरामा न्यूनर्मल खोजिरहेकाले शिक्षा पनि युग सुहाउँदो हुनुपर्ने धारणा राखेका छन् ।
महरले स्वदेशमा टिक्ने र विदेशमा बिक्ने शिक्षा युवाको माग रहेको र त्यही नै अहिलेको आवश्यकता भएको प्रस्ट्याएका छन् । विश्व विद्यालयको शिक्षालाई व्यापक रूपमा हेरिनुपर्ने र त्यसको दायरा फराकिलो पारिनु पर्ने उनको भनाइ छ ।
अहिलेको युग एआई प्रविधिमा पुगिसकेकाले शिक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सबै सचेत रहनु पर्ने उनले बताए ।
प्रतिक्रिया