सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको छ । कर्णालीको भाषा, साहित्य, कला तथा संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षण गर्न प्रतिष्ठान गठन गर्न लागिएको हो ।
नेपाली भाषाको उद्गम स्थानको रूपमा रहेको जुम्ला जिल्लाको सिंजामा खस भाषा र संस्कृतिसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गर्नका लागि प्रज्ञा प्रतिष्ठानको गठन गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।
आर्थिक वर्ष २०८१-०८२ मा आवश्यक बजेट विनियोजन व्यवस्था भएको र कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गरी स्वीकृतको क्रममा रहेको मन्त्री भण्डारीले बताए ।
‘संवैधानिक अधिकार प्राप्त भए पनि अझै कर्णाली प्रदेशमा प्रज्ञा–प्रतिष्ठान गठन हुन सकेको छैन,’ उनले भने, ‘कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र कर्णालीको संस्कृति संरक्षणका लागि सांस्कृतिक नीति निर्माण गर्ने र प्रतिष्ठानको संरचना तय गर्ने उद्देश्यले राखिएको छ ।’
खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएको र पुरातात्त्विक महत्त्वका सम्पदा, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न, खोज अनुसन्धान गर्न प्रतिष्ठान स्थापना हुनु अनिवार्य भएको मन्त्री भण्डारीले बताए ।
‘कर्णाली सभ्यताको इतिहास लेखन त्यसका भाषा,साहित्य ,संस्कृति, मानव शास्त्र र दर्शन आदि विविध पाटाहरूको अन्वेषण गरी इतिहास लेख्न, लेखाउन, नयाँ पिँढीलाई प्रेरित र प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘कर्णालीको भाषा, कला र संस्कृतिको अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक रहेको छ ।’
प्रतिक्रिया