प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उहाँले बताउनुभयो । “यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो वास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उहाँले भन्नुभयो, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् ।यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।” किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यही कारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो । सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्त्विक महत्त्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ । सरकारले उत्खननका लागि यस पटक रु १० लाख बजेट छुट्टाएको विभागका अधिकृत अधिकारीले बताउनुभयो । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपालि संरक्षणको काम गरिरहेका छौँ ।” किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिक स्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।
प्रतिक्रिया