शिक्षक आन्दोलनमा ट्रेड युनियन कांग्रेस कोशीको ऐक्यबद्धता

विहीबार, २१ चैत्र २०८१
इलामः सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरूले सुरु गरेको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस कोशीले ऐक्यबद्धता जनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको इलामको सूर्योदयमा बिहीबार सम्पन्न पूर्ण बैठकले शिक्षकहरूले अघि सारेको मागले शिक्षकहरूको पेसागत सुरक्षा र शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने भएकाले माग सम्बोधन गर्न माग गर्ने समेत निर्णय गरेको नेपाल ट्रेड युनियन कांग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले जानकारी दिए । बैठकले चैत्र १५ मा काठमाण्डौंको तीनकुने क्षेत्रमा भएको घटनाको निन्दा समेत गरेको छ । अध्यक्ष कार्कीको अध्यक्षतामा भएको बैठकमा पूर्व राष्ट्रिय अध्यक्ष लक्ष्मण बहादुर बस्नेत, निवर्तमान अध्यक्ष पुष्कर आचार्य, महासचिव अजय राई, उपाध्यक्ष ज्योती कोइराला सहितको उपस्थिति रहेको थियो । बैठकले आर्थिक, साङ्गठनिक प्रस्ताव पारित गरेको जनाइएको छ । बैठकलाई सम्बोधन गर्दै पूर्व राष्ट्रिय अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले ट्रेड युनियन आन्दोलनले श्रमिकका समस्या समाधान गर्न नसकेको गुनासो सुनाए । निवर्तमान अध्यक्ष पुष्कर आचार्यले श्रमिकका समस्या समाधान गर्ने तर्फ सरकार उदासीन भएको बताए । उनले ट्रेड युनियनका संस्थाहरूमा जुझारुपन हराएकाले उद्योगपतिहरू हाबी भएको बताए । राष्ट्रिय उपाध्यक्ष ज्योती कोइरालाले शिक्षकहरूको आन्दोलन माग सम्बोधन नभए सम्म नरोकिने अवस्थामा रहेको बताए । राष्ट्रिय समितिका महासचिव अजय कुमार राईले श्रमिकको न्यूनतम पारिश्रमिकको विषयमा ट्रेड युनियन संस्थाहरूको एक आवाज बनाउन प्रयास भइरहेको बताए । उनले रोजगारदाताको हस्तक्षेप बढेकै कारण श्रमिकहरूको आवाज कमजोर बन्दै गएको उल्लेख गरेका छन् । उनले देशभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रिएका विषयमा नेपाल ट्रेड युनियन कांग्रेस आन्दोलनकारी शिक्षकहरूको पक्षमा उभिएको बताए । शिक्षकहरूले यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेसम्म २०८१ सालको एसइईमा सहभागी सामुदायिक र संस्थागत ५ लाख १४ हजार ७१ विद्यार्थीको उत्तर पुस्तिका समेत जाँच नगर्ने अडान राखेका छन् । यस अघि २०८० असोज ३ गते देखि शिक्षकहरू यस्तै माग राख्दै आन्दोलनमा उत्रिएका थिए तर सरकार र शिक्षकहरूबिच भएको सहमति कार्यान्वयन नभएको शिक्षकहरूको भनाई छ । त्यति बेला २ पटक गरेर ६ बुँदे सहमति भएको थियो । बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले ट्रेड युनियनकर्मीको अधिकार रक्षाका लागि ट्रेड युनियन आन्दोलनका नेताहरू इमानदार बन्नुपर्ने बताए । बैठकमा चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, उपाध्यक्ष नर्वदा निरौला, ट्रेड युनियन कांग्रेस कोशीका सहसचिव हरिनाथ फुयाँल, नेपाल ट्रेड युनियन कांग्रेस इलामका अध्यक्ष जीवन सुवेदी लगायतले श्रमिकका समस्या सम्बोधन गर्ने गरी पैरवी गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार