इलाम : आशिष स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार किरण पौडेल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले उदीयमान पत्रकारलाई हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट पत्रकार पौडेल पुरस्कृत भएका हुन् ।
सोमबार सदरमुकाममा आयोजित समारोहमा कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर राना मगरले पुरस्कार हस्तान्तरण गरे । पौडेल एक दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका छन् ।
२०७२ साल देखि पत्रकारिता सुरु गरेका पौडेल इलाम आवाज साप्ताहिक, इलाम पोस्ट दैनिकको संवाददाता हुँदै कार्यकारी सम्पादक, इलाम एफएम, राष्ट्रिय समाचार समिति इलाम संवाददाता हुँदै हाल काठमाण्डौमा रहेको हिमाल प्रेसमा डेस्कमा कार्यरत छन् ।
२०५९ साल वैशाख १ मा दुर्घटनामा निधन भएका स्वर्गीय आशिष राई रेडियो नेपालका तत्कालीन जिल्ला संवाददाता थिए । नयाँ वर्ष मनाउन गएका बेला माई खोलामा पौडी खेल्नेक्रममा उनको डुबेर निधन भएको थियो ।
पत्रकार राईको स्मृतिमा महासङ्घ शाखाले आशिष स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरी हरेक वैशाख १ मा साविक मेची अञ्चलका एक उदीयमान पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव टीका खतिवडाले जानकारी दिए ।
यसअघि यो पुरस्कारबाट बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास पुरस्कृत भई सकेका छन् ।
त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक समेत सोही पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
यसैगरी नेपाल पत्रकार महासङ्घ इलामले स्थापना दिवसको अवसरमा प्रदान गरिने क्रियाशील पत्रकार महिला पुरस्कारबाट सुनिता मगर पुरस्कृत भएकी छिन् । सो पुरस्कार समेत वैशाख १ गते एकै दिन वितरण गरिँदै आएको छ । मगर इलामको रेडियो नेपालवाडीमा समाचार कक्षमा कार्यरत छिन् ।
यसअघि उक्त पुरस्कारबाट सविता पाण्डे र सुजता सुनुवार पुरस्कृत भइसकेका छन् ।
नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईको अध्यक्षता एवं कोशी प्रदेशका अर्थमन्त्री रामकुमार राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अवसरमा पत्रकारिताको आयाम, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रतिक्रिया