विराटनगर : नयाँ वर्षको दिनबाट मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी थानमा मेला सुरु भएको छ । सुनवर्षी थानमा लाग्ने परम्परागत मेला प्रत्येक वर्ष वैशाख १ गतेबाट सुरु हुन्छ ।
विशेष पूजाआजासहित सुरु हुने मेला चण्डीपूर्णिमाका दिनसम्म चल्छ । यसवर्ष मोरङका विभिन्न स्थानमा वैशाख २९ गतेसम्म मेला चल्ने छ । वडाध्यक्ष कुमार बुढाथोकीका अनुसार सुनवर्षी थानलाई तराईका आदिवासी र थारु समुदायको विशेष देवस्थल मानिन्छ। त्यहाँ ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतका समुदायले आफ्नो कुलदेवताको रूपमा सुनवर्षी महाराजको पूजा गर्ने गर्छन् ।
नयाँ वर्षको दिन सुनवर्षी थानमा विशेष पूजा गरिन्छ । भक्तजनले मनोकामना पूरा भएपछि माटोको हात्ती, कागजको फूलघोडा चढाउने परम्परा छ। मेला भर्न र पूजाआजाका लागि झापा, मोरङ, सुनसरी र छिमेकी देश भारतबाट पनि हजारौँ भक्तजन पुग्ने गरेका छन् ।
सुनवर्षी थानमा रहेको पोखरी र गोहीको बारेमा एउटा प्रसिद्ध किम्बदन्ती पनि छ। धेरै वर्षअघि पोखरीमा रहेको गोही भक्तजनलाई भाँडाकुँडा दिन्थ्यो र कसैलाई गहना चाहिएमा पोखरीबाट आफैं निस्कन्थ्यो भन्ने जनविश्वास छ।
सुनवर्षी थान ३ विघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यसलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने वडाध्यक्ष कुमार बुढाथोकीले बताए । ‘सुनवर्षी थान हाम्रो पहिचान हो। यसको संरक्षण, प्रचार र विकासमा सबैले सघाउनुपर्छ। सरकारको ध्यान यहाँ पुग्नुपर्छ । यसलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’ उनले भने ।
नयाँ वर्षको दिनबाट सुरु भएको मेला वैशाख महिनाभरि मोरङको दक्षिणी क्षेत्रमा रहेका विभिन्न थानहरुमा चल्छ । परम्परा, श्रद्धा र संस्कारसँग जोडिएको मेला तराईको चाडपर्व जस्तै बनिसकेको वडाध्यक्ष बुढाथोकीको भनाइ छ ।
सुनवर्षी थानमा पूजा गरेपछि मनको चाहना पूरा हुने जनविश्वास छ । स्थानीय सरोकारवालाहरुले सुनवर्षी थानलाई लक्षित गरेर वर्षभरि नै धार्मिक पर्यटक भित्राउन सकिनेमा जोड दिएका छन् ।
प्रतिक्रिया