सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, कोशी प्रदेशको कमाण्डमा कुमार न्यौपाने

विहीबार, ११ बैशाख २०८२

विराटनगर : सशस्त्र प्रहरी बल नेपालका १२ जना डीआईजी (सशस्त्र प्रहरी नायब महानिरीक्षक) को सरुवा भएको छ। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार गरिएको सरुवामा डीआईजी गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी, कृष्ण ढकाल र दीपेन्द्र कुँवर परेका छन्। 

कोशी प्रदेशको जिम्मेवारी कुमार न्यौपानेलाई  
सरुवापछि डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय, सुनसरीको प्रमुखका रूपमा नियुक्त गरिएको छ। अब उनले कोशी प्रदेशअन्तर्गत १४ जिल्लामा सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन्। यसअघि उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए र सशस्त्र प्रहरीका प्रवक्तासमेत हुन्।

शम्भु सुवेदी काठमाडौं सरुवा   
कोशी प्रदेशमा सशस्त्रको नेतृत्व गर्दै आएका डीआईजी शम्भु सुवेदीको एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा सरुवा गरिएको छ। सुवेदीको कार्यकालको दौरान सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कमजोरी, कार्यक्रमहरूमा अनुपस्थित हुने, र घुमुवा परिचालनमार्फत अवैध रकम असुली जस्ता विवादले उनको नाम जोडिँदै आएको थियो। 

पोखरेल मकवानपुरमा
सुवेदीभन्दा अघि कोशी प्रदेशको कमाण्ड सम्हालेका डीआईजी अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई वाहिनी मुख्यालय, मकवानपुरमा सरुवा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार