तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाङ्कन अनुमति

बुधबार, १७ बैशाख २०८२

काठमाडौं : पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छायाङ्कनका लागि अनुमति पाएको छ । 

अनुमतिका लागि आवेदन दिएको करिब अडाइ महिनापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले आज मात्रै अनुमति पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायाङ्कन हुन लागेको ठुलो लगानीको फिल्म हो । 

अन्तर्राष्ट्रिय ख्याति कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायाङ्कन गर्ने गरी अनुमति दिइएको हो ।

कम्पनीले विभिन्न प्रक्रियाहरू पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायाङ्कन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठुलो योगदान पुग्ने अनुमान गरिएको छ ।

जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आइसकेका छन् । सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । फिल्मको विश्वव्यापी प्रसारण अधिकार एप्पल कम्पनीले लिएको छ ।

त्यस्तै, फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दै छ । सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको हो । अब अन्य निकायमा अनुमति लिएर फिल्म छायाङ्कन गर्न कम्पनीले थुप्रै कठिनाइहरू व्यहोर्नुपरेको निर्माण कम्पनीको भनाइ छ ।

मन्त्रालयको झन्झटिलो प्रक्रियालाई लिएर अन्य विदेशी कम्पनीहरूले नेपाललाई आफ्नो फिल्मको गन्तव्य बनाउनबाट हिचकिचाउन थालेका छन् ।  

विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायाङ्कनको अघिल्लो दिन मात्र अनुमति प्रदान गरेकाले निर्माण टीमलाई स्थानीय तह, राष्ट्रिय निकुञ्ज एवं संरक्षण क्षेत्र, जिल्ला प्रशासन कार्यालयलगायतबाट पनि अनुमति लिन थप झन्झटिलो हुने भएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार