झापा । नेपाल–भारतको सीमा नाकासँग जोडिएको मेची नदीसहित झापाका विभिन्न नदी तथा खोला किनारमा उल्लासमय छठ पर्वको तयारी धमाधम भइरहेको छ । मङ्सिर ३ गते आइतबार बेलुका अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन मेची, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, मावा, कमल लगायतका नदी किनारहरू नयाँ बेहुलीझैँ सिँगारिँदै छ ।
जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिक अहिले घाट ९पूजा स्थल० व्यवस्थापनको तयारीमा जुटेका छन् ।
भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौँ घाट निर्माण धमाधम गरिँदैछ ।
पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम भइरहेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।
नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले यहाँ मनाइने छठको पहिचान छुट्टै रहेको अध्यक्ष झाले बताए ।
‘यस पटक नदी पूर्वपट्टिबाट बगिरहेकोले नदीमा छुट्टै अस्थायी बाँसको पुल बनाउन आवश्यक छैन,’ अध्यक्ष झाले भने, ‘नदी किनारमा यस पटक फराकिलो स्थानमा भएकाले भीडभाडलाई व्यवस्थापन गर्न सहज हुन्छ ।’ नदीमा किनार वरिपरि बिजुलीबत्ति जडान, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मूर्ति स्थल निर्माणको काम पूरा गर्न करिब ६ लाख रुपैयाँ खर्च लाग्ने छ । भद्रपुर नगरपालिकासहित चन्दादाताहरूबाट रकम सङ्कलनको काम भइरहेको उनको भनाई छ ।
उता देवीबस्ती क्षेत्रमा युनिक समूहले भने घाट व्यवस्थापन कार्यलाई तिहार अघि देखि नै तीव्रता दिएको छ । समूहले १० फुट घाटको १५०० सय रुपैयाँसम्म लिने समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए । गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने उनको भनाई छ । अघिल्लो बर्सहरूमा तटबन्धमाथि बनाइएको सडक नजिकैबाट पानी बग्थ्यो, घाट पनि त्यही बनाउनु पर्थ्यो । यस वर्ष पानी केही परबाट बगिरहेको छ । जसले गर्दा सडकमा हुने भीडभाड कमसँगै व्रतालु परिवारजनलाई पनि सहज हुन्छ, उनले भने । बिजुली बत्ती, पण्डाल, सूर्य मन्दिर रंगरोगन, भजन सन्ध्या, पूजा खर्च गरी अनुमानित ४ लाख खर्च हुने उनले बताए । समूहले अघिल्लो वर्ष नै नदी किनारमा स्थायी रूपमै सूर्य मन्दिर निर्माण स्थापना गरेको छ । यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् । मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान रहेको आयोजक समितिले जनाएको छ । मेची नदीको शान्ति सुरक्षालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरमा सर्वपक्षीय भेला सम्पन्न गरेको छ ।
सो भेलाबाट पूजाको सामग्री बोक्ने तीन पाङग्रे ९ठेला भ्यान० र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ ।
छठ पर्वको दिन एक ६ जना ट्राफिक प्रहरी, एक सय २० बढी नेपाल प्रहरी र एक सय सशस्त्र प्रहरी परिचालन हुने सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी श्यामसंगती महर्जनले जानकारी दिए । नदीमा सुरक्षा व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरिने उनले बताए । पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनको भनाई छ ।
Discussion about this post