वासिंगटन डिसी : अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासनसम्बन्धी निर्णयमा शुक्रबार अस्थायी रोक लगाएको छ। अदालतको निर्णयले विशेषगरी भेनेजुएलाका आप्रवासीहरूलाई राहत दिएको छ, जो अहिले टेक्सासको हिरासत केन्द्रमा रहेका छन्।
ट्रम्प प्रशासनले सन् १७९८ को युद्धकालीन ‘एलियन एनिमिज एक्ट’ प्रयोग गरेर ती आप्रवासीहरूलाई तत्काल निष्कासन गर्ने तयारी गरेको थियो। तर सर्वोच्च अदालतले स्पष्ट रूपमा भन्यो कि आप्रवासीलाई देश निकाला गर्नु अघि कानुनी प्रक्रिया पूरा गरिनु आवश्यक छ। अदालतले सरकारको ‘२४ घण्टाभित्र बिना सुनुवाई निष्कासन’ नीति गैरसंवैधानिक भएको ठहर गरेको छ।
‘एलियन एनिमिज एक्ट’ को प्रयोग संविधानको संरक्षणमा प्रश्न उठाउने भन्दै अदालतमा मुद्दा दायर भएको थियो। अदालतको आदेशअनुसार अब आप्रवासीहरूलाई निष्कासन अघि कारण थाहा पाउने र अदालतमा चुनौती दिने अधिकार रहनेछ।
यद्यपि यो फैसला अस्थायी मात्र हो र पूर्ण कानुनी प्रक्रिया अझै बाँकी नै छ। सर्वोच्च अदालतले यो मुद्दा पाँचौं सर्किट अदालतमा पुनः सुनुवाइका लागि फिर्ता पठाएको छ — जुन अदालतले अघिल्लो महिना ट्रम्प प्रशासनको पक्षमा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो।
फैसलापछि राष्ट्रपति ट्रम्प आक्रोशित देखिए। उनले आफ्नो सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, “सर्वोच्च अदालतले अपराधीहरूलाई देशनिकाला गर्न दिँदैन्।”
प्रतिक्रिया