धनगढीको जनतामा ३३ विद्यार्थी पढाउन ११ शिक्षक

आइतबार, ०४ जेठ २०८२

धनगढी : कैलालीको धनगढीमा रहेको एक विद्यालयमा ११ जनाले शिक्षकले ३३ विद्यार्थीलाई पढाउदै आएका छन् । धनगढी उपमहानगरपालिकामा वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय आधारभूत विद्यालयमा ११ जनाले शिक्षकले ३३ विद्यार्थीलाई पढाउदै आएका हुन् ।

यो विद्यालयमा एक शिक्षक बराबर तीन जना विद्यार्थी अनुपात रहेको छ । २०३७ सालमा खुलेको यो सामुदायिक विद्यालयमा दस वर्षयता यो वर्ष सबैभन्दा कम विद्यार्थी सङ्ख्या रहेको प्रधानाध्यापक रामप्रसाद फुलाराले बताए । स्थानीय अभिभावकले आफ्ना छोराछोरीहरूलाई विद्यालय भर्ना नगर्दा समस्या भएको उनले बताए ।

विद्यार्थी संख्या निकै कम हुँदा कक्षा १० सम्म सञ्चालित विद्यालयलाई गत वर्ष कक्षा ८ सम्म कायम गरिएको थियो । यो वर्ष झन विद्यार्थी सङ्ख्या घट्दा विद्यालयकै भविष्य जोखिममा रहेको प्रधानाध्यापक फुलाराले बताए ।

राना समुदायका बालबालिका पढ्ने यो विद्यालयमा भौतिक पूर्वाधार राम्रो छ । पर्याप्त खेल मैदान र खुला ठाउँ पनि छ । प्राथमिक तहमा चार जना शिक्षक स्थायी छन् भने दुई जना राहत शिक्षक कार्यरत छन् ।

बालविकास कक्षाका लागि दुई जना शिक्षक छन् । निम्न माध्यमिक तहमा दुई जना राहत शिक्षक कार्यरत छन् । एक जना स्वयंसेवक शिक्षकसमेत राखिएको छ । विद्यालय वरिपरि घना बस्ती छ । तर, विद्यार्थी नै नआउँदा शिक्षकहरू हाजिर गर्न मात्रै विद्यालय आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष मदनराज भट्टले बताए । उनले शिक्षकहरूकै कारण विद्यार्थी संख्या घटेको बताए ।

‘विद्यालयमा ११ जना शिक्षक छन् । उहाँहरू एकले अर्काको भनेको मान्नुहुन्न । आपसमा मेलमिलाप पनि छैन,’ उनले भने, ‘शिक्षक नै हाजिर गर्न मात्रै विद्यालय आउने भएपछि गाउँलेहरूले बालबालिका अन्यत्र पठाउन थाले ।’

कुन कक्षामा कति विद्यार्थी ?
शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा जम्मा ३३ जना विद्यार्थीले मात्रै नाम लेखाएका छन् । ११ जना शिक्षकले दिनभर ३३ जना बालबालिकालाई पढाउनुपर्ने अवस्था आएको छ ।

यो वर्ष बालविकासमा जम्मा दुई जना बालबालिका भर्ना भएका छन् । विद्यालयमा बालविकास शिक्षक भने दुई जना छन् । यस्तै कक्षा एक र दुईमा एक–एक जना, तीन र चार कक्षामा समान दुई–दुई जना, कक्षा पाँचमा तीन जना, ६ मा दस जना, सातमा ७ जना तथा कक्षा आठमा जम्मा ५ जनाले नाम लेखाएको प्रधानाध्यापक फुलाराले बताए । तर, इमिस प्रणालीमा भने विद्यालयका केवल १५ जनाको मात्रै विवरण प्रविष्ट गराइएको छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार