मोरङकी सम्झना राईले गरिन करिब ३ सय सर्पकाे उद्दार, बनाइन फरक पहिचान

सोमबार, ०२ असार २०८२

मोरङ : धेरैलाई सर्प देख्नासाथ ज्यान जोगाउन भाग्ने बानी छ। तर मोरङ उर्लाबारी–१ की सम्झना राई भने यस्ता अपवाद पात्र हुन्, जसले अहिलेसम्म झन्डै तीन सय सर्पको उद्धार गरिसकेकी छिन्। साङ्लो, अजिङ्गर, गोमनदेखि धामिन र घोडे साँपसम्मको उद्धार गर्दै उनले आफूलाई एक साहसी सर्प उद्धारकर्ताका रूपमा स्थापित गरेकी छन्।

सङ्खुवासभाको खाँदवारीमा जन्मिएकी राई दुई वर्षअघि सर्पसँगको सहजीवन र संरक्षणको अवधारणा बोकेर उद्धार कार्यमा होमिएकी हुन्। सुरुमा उनलाई सामाजिक तिरस्कार, परिवारको चिन्ता र उपकरणको अभावजस्ता चुनौतीहरू थिए। तर अहिले उनी सर्पप्रति सचेतना फैलाउने अभियानमै क्रियाशील छिन्।

“सर्प हाम्रो शत्रु होइन, मित्र हो। त्यसैले म सर्पको जीवन रक्षा गर्नु आफ्नै कर्तव्य ठान्छु,” सम्झना भन्छिन्। सर्पको संरक्षणलाई पारिस्थितिक सन्तुलनको मेरुदण्ड मानेर उनी समाजको अज्ञानता र भ्रम चिर्दै सन्देश फैलाइरहेकी छिन्।

२० वर्षको उमेरदेखि सर्प उद्धारमा लागेकी सम्झनाले सुरुआती दिनमा मानिसहरूको तिरस्कारपूर्ण व्यवहार, उपहास र असहयोग खेपिन्। महिलाले सर्प समाउन मिल्दैन भन्ने सोच उनीमाथि प्रहार स्वरूप आइरहन्थ्यो। “सर्प देख्दा सात कोश टाढा भाग्नेहरू म सर्प समाउँछु भन्दा अचम्म मान्थे, डराउँथे पनि,” सम्झना भन्छिन्, “तर म अडिग भएँ।”

उनी भन्छिन्, सुरुमा परिवारले समेत डर मान्यो। तर उनले जब जिम्मेवारीपूर्वक उद्धार गर्न थालिन्, त्यसपछि घरले पनि साथ दिन थाल्यो। अहिले उनी सर्प समाउने बेला परिवारका सदस्य नै भिडियो खिचेर सन्देश फैलाउन मद्दत गर्छन्।

सर्पको पहिचान, स्वभाव, विषालु–अविषालु छुट्याउने ज्ञानसँगै उद्धारका तरिका बुझ्नका लागि उनले चितवनमा सर्प विशेषज्ञहरूसँग केही दिने विशेष तालिम लिएकी थिइन्। उनले गोमनजस्ता अत्यन्तै विषालु सर्पसमेत सम्हालेकी छन्। “गोमनले टोकेको अवस्थामा आधा घण्टाभित्र अस्पताल पुगिएन भने ज्यान जान सक्छ, त्यसैले सर्पको प्रवृत्ति बुझ्नु अत्यावश्यक हुन्छ,” सम्झना बताउँछिन्।

सर्प उद्धारमा स्टिक, ग्लाभ्स, ब्यागलगायत विशेष उपकरण आवश्यक पर्छन्। उर्लाबारी नगरपालिकाले केही सहयोग गरे पनि बाँकी उपकरणको खर्च उनी आफैँ व्यहोर्दै आएकी छन्। “महिनामा ४–५ हजार रुपैयाँ त केवल उद्धार सामग्रीमा जान्छ, तर सरकारबाट कुनै दिगो सहयोग छैन,” उनी भन्छिन्।

उनले राज्यलाई ध्यानाकर्षण गराउँदै भनिन्, “सर्प उद्धारकर्ताको सुरक्षासहित समाजमा यो कार्य निरन्तर गर्न राज्यले अग्रसरता लिनुपर्छ।” हाल उनले आफ्नो अनुभव र ज्ञानलाई विस्तार गर्न चाहन्छिन्। यसका लागि थप तालिम र नेटवर्क निर्माणमा उनी लागिपरेकी छन्।

सञ्चार क्षेत्रमा पनि सक्रिय रहेकी सम्झनाले झापाको एक रेडियोमा आरजेका रूपमा यात्रा सुरु गरिन्। पछि सेल्फी टिभी हुँदै हाल आफ्नै अनलाइन मिडिया सञ्चालन गरिरहेकी छन्। सञ्चारकै माध्यमबाट उनले सर्पप्रतिको डर हटाउन र सही जानकारी फैलाउन अनवरत प्रयास गरिरहेकी छन्।

सम्झनाका अनुसार सर्प उद्धार त केवल कार्य हो, साँचो परिवर्तन भने समाजमा सर्पप्रति रहेको अन्धविश्वास र डर हटाउनु हो। उनी भन्छिन्, “हामी सर्पलाई देख्दा मर्छौँ भन्ने सोच बनाउँछौँ, तर साँचो कुरा त हामीले प्रकृतिलाई नै मारेका छौँ।”

उनले थपिन्, “सर्पसँग डर होइन, समझदारी राख्न सिक्नुपर्छ।” सम्झनाको अभियान नारी साहस, समाजमा चेतना र पर्यावरण सन्तुलनको एक अद्वितीय उदाहरण बनेको छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार